To view a copy of the CC BY-SA 4.0 license visit
http://creativecommons.org/licenses/by-sa/4.0/
Notices:
You do not have to comply with the license for elements of the material in
the public domain or where your use is permitted by an applicable
exception or limitation.
No warranties are given. The license may not give you all of the
permissions necessary for your intended use. For example, other rights
such as publicity, privacy, or moral rights may limit how you use the
material.
फिलिप्पी
11ख्रीष्ट येशूका सेवकहरू पावल र तिमोथीबाट, फिलिप्पीमा भएका ख्रीष्ट येशूमा,परमेश्वरका पबित्र जनहरू सबै, अनि बिशप र डिकनहरूलाई । 2परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।3हर समय तिमीहरूको सम्झना गर्दा, 4तिमीहरू सबैका निम्ति मेरो हरेक प्रार्थनामा, आनन्दसाथ प्रार्थना गर्दै, 5पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूको सहभागिताको लागि म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु । 6म यो कुरामा निश्चित छु, कि तिमीहरूमा यो असल कामलाई सुरु गर्नुहुनेले येशू ख्रीष्टको दिनसम्म यसलाई पूरा गर्न निरन्तरता दिनुहुनेछ ।7तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनभने मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ । 8किनकि ख्रीष्ट येशूको प्रेमको गहिराइमा म तिमीहरू सबैका निम्ति कति तृष्णा गर्छु भन्ने कुरामा परमेश्वर मेरो साक्षी हुनुहुन्छ ।9मेरो प्रार्थना यही छ, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झन्झन् प्रशस्त हुँदै जाओस् । 10ताकि जे असल छ ती कुराहरू तिमीहरूले स्वीकार गर्न सक ,र तिमीहरू ख्रीष्टको दिनमा इमान्दार र दोषरहित भई 11परमेश्वरको महिमा र प्रशंसाको निम्ति, येशू ख्रीष्टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक ।12भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु, कि ममथि घटेका यी सबै कुराहरूले सुसमाचारलाई साँच्चै अगाडि बढाउने काम भएको छ । 13फलस्वरूप, ख्रीष्टमा मेरा साङ्लाहरूका विषयमा महलभरिका सारा रक्षकदेखि अरू सबै मानिसलाई थाहा भएको छ । 14धेरै भाइहरू मेरा साङ्लाहरूका कारण परमप्रभुमा अझ बढी विश्वस्त भएका छन् र निडर भएर वचन बोल्न आँटिला भएका छन् ।15कसै-कसैले त ईर्ष्या र बेमेलमा, र अरूहरूले सद्भावमा पनि ख्रीष्टको प्रचार गरेका छन् । 16काेही-काेही ख्रीष्टको प्रचार गर्नेहरूले सुसमाचारको समर्थन गरेको कारण मलाई यहाँ राखिएको छ भन्ने कुरा जानेर याे काम प्रेमले गर्छन् । 17तर अरूहरूले ख्रीष्टको प्रचार स्वार्थ र निष्ठाहीन उद्देश्यले गर्छन् । मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्ट दिनेछन् भनी तिनीहरू विचार गर्छन् ।18त्यसो भए के त ? चाहे बहानामा होस् वा सत्यतामा हरेक तरिकाले ख्रीष्टको प्रचार हुन्छ, र म यसैमा रमाउँछु । हो, म रमाउनेछु । 19किनकि मलाई थाहा छ, कि तिमीहरूको प्रार्थना र येशू ख्रीष्टको आत्माको सहायताद्वारा परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ ।20मेरो उत्कट अपेक्षा र आशा याे हाे कि, म शर्ममा पर्नेछैनँ, बरु सारा साहससँगै सधैँ जस्तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्युद्वारा, ख्रीष्ट मेरो शरीरमा उचालिनुहुनेछ । 21किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो ।22तर यदि म शरीरमा नै जिउनु हो भने त्यो मेरो लागि फलदायी परिश्रम हुनेछ तर, कुन कुरालाई चुन्ने भन्ने कुरा मलाई थाहा छैन । 23किनकि यी दुवै कुराहरूका बीचमा म कडा दबाबमा परेको छु । म बिदा भएर ख्रीष्टसँग हुने इच्छा गर्छु, जुनचाहिं अति असल कुरा हो, 24तर तिमीहरूका निम्ति शरीरमा रहनुचाहिं धेरै आवश्यक छ ।25यस कुरामा म निश्चित भएको कारणले म जान्दछु, कि विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म तिमीहरू सबै सँग-सँगै रहेर निरन्तरता दिनेछु, 26ताकि जब म तिमीहरूकहाँ फेरि आउँछु, ममा तिमीहरूले प्रभु येशूमा गर्व गर्ने कारणहरू प्रशस्त होऊन् । 27ख्रीष्टको सुसमाचारको निम्ति योग्य हुने किसिमले मात्र आफ्नो जीवनयापन गर, ताकि चाहे म तिमीहरूलाई भेट्न आऊँ वा म उपस्थित नहोऊँ, म तिमीहरूका बारेमा याे सुन्न पाऊँ, कि तिमीहरू एउटै आत्मामा दृढ भएर खडा भएका छौ र सुसमाचारको विश्वासको निम्ति तिमीहरू मिलेर एउटै मनको भएर कडा परिश्रम गरिरहेका छौ ।28तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ । यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको तर तिमीहरूको निम्ति मुक्तिको चिन्ह हो, र यो परमेश्वरबाट आएको हो । 29किनकि ख्रीष्टको निम्ति यो तिमीहरूलाई सिेत्तैंमा दिइएको छ, उहाँमाथि विश्वास गर्न मात्र होइन, तर उहाँको निम्ति कष्ट भोग्न पनि । 30किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्छौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।
21यदि ख्रीष्टमा केही उत्साह छ भने , यदि उहाँको प्रेमबाट केही सान्त्वना मिल्छ भने, यदि त्यहाँ पवित्र आत्माको केही सङ्गती छ भने, यदि त्यहाँ केही स्नेही करुणा र सहानुभूति छ भने । 2तिमीहरू एउटै मनका भएर, एउटै प्रेम धारण गरेर, आत्मामा एक भएर, र एउटै उद्देश्य राखेर मेरो आनन्दलाई पूरा गर ।3स्वार्थ र रित्तो अहङ्कारमा केही नगर । बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्च ठान । 4तिमीहरू प्रत्येकले आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान देओ ।5तिमीहरुमा त्यही मन हाेस्, जुन ख्रीष्ट येशूमा पनि थियो । 6उहाँ परमेश्वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्ने वस्तुझैं ठान्नुभएन । 7बरु, उहाँले कमाराको रूप धारण गरेर आफैंलाई रित्त्याउनुभयो र उहाँ मानिसको स्वरूपमा जन्मनु भयो । 8उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्यु अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो!9यसकारण परमेश्वरले पनि उहाँलाई अति उच्च पार्नुभयो । परमेश्वरले उहाँलाई सबै नाउँभन्दा उच्च नाउँ दिनुभयो । 10उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडा टेक्नुपर्छः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू । 11उहाँले यो गर्नुभयो, ताकि परमेश्वर पिताको महिमाका लागि हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ ।12यसकारण, मेरा प्रियहरू हो, जसरी तिमीहरूले सधैं आज्ञापालन गर्ने गरेका छौ, अब मेरो उपस्थितिमा मात्र होइन तर मेरो अनुपस्थितिमा झन् बढी डर र कम्पसाथ आफ्ना मुक्तिको काम पूरा गर । 13किनकि परमेश्वरको प्रसन्नताको निम्ति तिमीहरूलाई दुवै इच्छा गर्न र काम गर्न लगाउनलाई तिमीहरूमा काम गरिरहनुहुने उहाँ नै हुनुहुन्छ ।14गनगन नगरी वा बहसविना सबै कामहरू गर, 15ताकि तिमीहरू कुनै कलङ्कविना परमेश्वरका निर्दोष र शुद्ध छोराछोरी हुन सक । यस्तो प्रकारले व्यवहार गर, कि तिमीहरू धूर्त र बरालिएका पुस्ताकाबीच यस संसारमा ज्योतिझैं चम्कन्छाैं । 16जीवनको वचनलाई बलियो गरी पक्र ताकि ख्रीष्टको दिनमा म गर्वसँग भन्न सकूँ कि म व्यर्थमा दौडिनँ र मेरो परिश्रम व्यर्थको भएन ।17तर तिमीहरूको विश्वासको त्याग र सेवामा म बलिदानको रूपमा अर्पित हुनुपरे तापनि, म खुशी हुन्छु, र म तिमीहरू सबैसँग आनन्द मनाउँछु । 18त्यसै गरी, तिमीहरू पनि खुशी होओ, र मसँगै आनन्दित होओ ।19तर तिमोथीलाई तिमीहरूकहाँ छिट्टै पठाउनको निम्ति म प्रभु येशूमा आशा राख्छु, ताकि तिमीहरूका विषयमा जान्दा म प्रोत्साहित हुन सकूँ । 20किनकि तिनीजस्तै तिमीहरूका निम्ति साँचो रूपमा चिन्तित हुने मसँग अरू कोही पनि छैन । 21किनकि तिनीहरू सबैले येशू ख्रीष्टका कुराहरूभन्दा आफ्नै इच्छाको खोजी गर्छन् ।22तर तिमीहरूलाई तिनको योग्यता थाहै छ, किनभने जसरी छाेराले आफ्ना पिताको सेवा गर्छ, त्यसरी नै सुसमाचारमा तिनले मसँगै सेवा गरे । 23यसकारण, मेरो निम्ति के हुनेछ भनेर मैले थाहा पाउनासाथ जति सक्दो चाँडो म तिनलाई तिमीहरूकहाँ पठाउने आशा गर्छु । 24तर म आफैं पनि छिट्टै आउनेछु भन्ने कुरामा प्रभुमा निर्धक्क छु ।25तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन म आवश्यक ठान्छु । तिनी मेरा भाइ र सहकर्मी र सङ्गी सिपाही, र तिमीहरूका सन्देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन् । 26किनकि तिनी बिरामी भएको कुरा तिमीहरूले थाहा पाएकाले तिनी धेरै व्याकुल भएका थिए, र तिमीहरू सबैसँग हुनको निम्ति तिनले तृष्णा गरेका थिए । 27किनकि तिनी साँच्चै यति बिरामी थिए, कि तिनी मरणासन्न अवस्थामा पुगेका थिए । तर परमेश्वरले तिनीमाथि कृपा गर्नुभयो, र तिनमा मात्र नभएर शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया देखाउनुभयो ।28यसकारण, अझै धेरै उत्सुकतासाथ म तिनलाई तिमीहरूकहाँ पठाउँदैछु, ताकि जब तिमीहरूले तिनलाई फेरि देख्छौ, तिमीहरू आनन्दित हुन सक र मलाई कम शाेक हाेस्। 29सारा आनन्दसाथ प्रभुमा इपाफ्रोडिटसलाई स्वागत गर । तिनीजस्ता मानिसलाई आदर गर । 30किनकि ख्रीष्टको कार्यको निम्ति तिनी मृत्युको नजिक पुगे । मलाई सेवा पुर्याउन र तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पूरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे ।
31अन्त्यमा मेरा भाइहरू हो, प्रभुमा आनन्द गर । तिमीहरूलाई बारम्बार एउटै कुरा लेखिरहनु मेरो निम्ति झर्कोलाग्दो कुरो होइन र याे कुराले तिमीहरूलाई सुरक्षित राख्छ । 2कुकुरहरूदेखि होसियार रहो । खराब काम गर्नेहरूदेखि होसियार रहो । विकृति गर्नेहरूदेखि होसियार रहो । 3किनकि खतना हामीहरू नै हौं—हामीहरू नै परमेश्वरका आत्माद्वारा आराधना गर्छौं, हामीहरू नै ख्रीष्ट येशूमा गर्व गर्छौं, र शरीरमा कुनै भरोसा राख्दैनौं ।4यद्यपि, म आफैंले शरीरमा भरोसा राख्न सक्थे । यदि कसैले आफ्नो शरीरमा भरोसा राख्ने विचार गर्छ भने, त्योभन्दा बढी म गर्न सक्छु । 5मेरो आठौं दिनमा खतना गराइएको थियो, म इस्राएलका मानिसहरूमध्ये एक, बेन्यामीन कुलमा जन्मेको, हिब्रूहरूका हिब्रू हुँ; व्यवस्थाको विषयमा चाहिं, एक फरिसी ।6जोशकाे लागि मैले मण्डलीलाई सताएँ; व्यवस्थाको धार्मिकताको विषयमा चाहिं म दोषरहित थिएँ । 7तर मेरो निम्ति लाभदायक भएका सबै कुराहरू, ख्रीष्टको खातिर मैले हानि नै सम्झेको छु ।8वास्तवमा, मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठताको कारण अब म सबै कुराहरूलाई हानि नै सम्झन्छु । उहाँको निम्ति मैले सबै कुराहरूलाई त्यागेको छु । म ती कुराहरूलाई काम नलाग्ने ठान्छु ताकि मैले ख्रीष्टलाई हासिल गर्न सकूँ, 9र उहाँमा स्थापित हुन सकूँ । व्यवस्थाबाट मैले आफैंले प्राप्त गरेको धार्मिकता मसँग छैन । बरु, ख्रीष्ट येशूमा विश्वासद्वारा प्राप्त गरेको धार्मिकता मसँग छ, जुन परमेश्वरबाटकाे धार्मिकता विश्वासद्वारा मैले प्राप्त गरेको हुँ । 10यसैकारण, अब म उहाँ र उहाँको पुनरुत्थानको शक्तिलाई जान्न चाहन्छु र उहाँका कष्टहरूमा सहभागी हुन चाहन्छु । उहाँको मृत्युको समरूपतामा म बद्लिन चाहन्छु, 11ताकि मैले मरेकाहरूबाटको पुनरुत्थानको कुनै किसिमले अनुभव गर्न सकूँ ।12मैले यी सबै कुराहरू प्राप्त गरिसकेको छु, वा म पूर्ण भइसकेको छु भन्ने होइन, तर जे कुराको निम्ति म ख्रीष्टद्वारा चुनिएको थिएँ, ती मैले पक्रन सकूँ भनेर म जोड दिन्छु । 13भाइहरू हो, मैले यी सबै कुराहरू पक्रिसकेको छु भनी म ठान्दिनँ । तर एउटा कुराचाहिं म गर्छुः म पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूका निम्ति परिश्रम गर्दै, 14ख्रीष्ट येशूमा परमेश्वरको माथिल्लो बोलावटको इनाम जित्ने लक्ष्यतर्फ अगाडि बढ्नमा जोड दिन्छु ।15यसकारण, हामी परिपक्व भएकाहरू सबैले यसरी विचार गरौं; र यदि तिमीहरूले कुनै कुरालाई भिन्न प्रकारले विचार गर्छौ भने परमेश्वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ । 16तथापि, हामीले जे प्राप्त गरिसकेका छौं, हामी त्यसमा अडिग रहौं।17भाइहरू हो, मेरो अनुकरण गर्नेहरू होओ । हामीमा तिमीहरूले पाएका उदाहरणअनुसार हिंड्नेहरूलाई ध्यान दिएर हेर । 18ती धेरै व्यक्तिहरू जसको विषयमा मैले तिमीहरूलाई बारम्बार बताएको छु, र अहिले आँसुका साथ म बताउँदैछु, कि तिनीहरू ख्रीष्टको क्रूसका शत्रुहरूझैं हिंडिरहेका छन् । 19तिनीहरूको अन्त्य विनाश हो । किनकि तिनीहरूको ईश्वर तिनीहरूको पेट हो, र तिनीहरूको महिमा तिनीहरूको शर्ममा छ । तिनीहरू सांसारिक कुराहरूका बारेमा विचार गर्छन् ।20तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी मुक्तिदाता प्रभु येशू ख्रीष्टको पनि प्रतीक्षा गर्छौं । 21उहाँले हाम्रो क्षुद्र शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ, जुन शरीर सबै कुराहरू उहाँको अधीनमा ल्याउनको निम्ति उहाँको शक्तिद्वारा बनाइएको छ ।
41यसकारण मेरा प्रिय भाइहरू हो, जसको म चाहना गर्छु, मेरो आनन्द र मुकुट, मेरा प्रिय साथीहरू, यस्तै गरी प्रभुमा स्थिर रहो । 2म इयोदियालाई र सुन्तुखेलाई प्रभुमा एउटै मनको हुन निवेदन गर्दैछु । 3वास्तवमा, मेरो साँचो सहकर्मी, म तिमीलाई यो पनि बिन्ती गर्छु, कि यी महिलाहरूलाई सहायता गर जसले म, क्लेमेन्ट र मेरा बाँकी सहकर्मीहरूसँग सुसमाचार प्रचार गर्न परिश्रम गरेका छन्, जसका नामहरू जीवनको पुस्तकमा छन् ।4प्रभुमा सधैं आनन्द गर । म फेरि पनि भन्छु, आनन्द गर । 5तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस् । प्रभु नजिकै हुनुहुन्छ । 6कुनै कुरामा चिन्तित नहोओ । बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्वरमा जाहेर होऊन् । 7र सबै समझभन्दा उच्च परमेश्वरको शान्तिले ख्रीष्ट येशूमा तिमीहरूका हृदय र विचारहरूलाई रक्षा गर्नेछ ।8अन्तमा भाइहरू हो, जे कुराहरू सत्य छन्, जे कुराहरू आदरणीय छन्, जे कुराहरू न्यायसङ्गत छन्, जे कुराहरू शुद्ध छन्, जे कुराहरू प्रेमयोग्य छन्, जे कुराहरू असल नामका छन्, यदि केही श्रेष्ठता छ र प्रशंसा गरिनुपर्ने केही कुराहरू छन् भने, यी नै कुराहरूका बारेमा विचार गर । 9जुन कुराहरू तिमीहरूले मबाट सिक्यौ र प्राप्त गर्यौ र मबाट सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ ।10म प्रभुमा अत्यन्तै आनन्दित छु किनकि अहिले अन्तमा तिमीहरूले म प्रतिको आफ्नो वास्तालाई नयाँ गरेका छौ । तिमीहरूले वास्तवमा पहिला पनि मेरो निम्ति वास्ता गरेका थियौ, तर त्यस समय तिमीहरूसँग मलाई सहायता गर्ने अवसर थिएन । 11म अहिले आवश्यकतामा परेकोले मैले यो भनिरहेको होइनँ । किनकि मैले सबै परिस्थितिहरूमा सन्तुष्ट हुन सिकेको छु । 12मलाई गरिबी के हो भन्ने कुरा थाहा छ, र मलाई प्रशस्त हुनु भनेको के हो पनि थाहा छ । सबै किसिमले र सबै कुराहरूमा कसरी परिपूर्ण हुनु वा भोकप्यासमा रहनु, र कसरी प्रशस्तता प्राप्त गर्नु वा आवश्यकतामा हुनु भन्ने गाेप्य कुरा मैले सिकेको छु । 13जसले मलाई शक्ति दिनुहुन्छ, उहाँद्वारा नै म सबै कुराहरू गर्न सक्छु ।14तथापि, तिमीहरूले मेरा कठिन परिस्थितिहरूमा सहभागी भएर असल गर्यौ । 15तिमी फिलिप्पीहरू यो जान्दछौ, कि सुसमाचारको सुरुआतमा जब म माकेडोनियाबाट निस्कें, तिमीहरूबाहेक कुनै मण्डलीले दिने र लिने विषयमा मलाई सहायता गरेनन् । 16म थेसलोनिकेमा हुँदा पनि मेरा आवश्यकताहरूका निम्ति तिमीहरूले एक पटकभन्दा धरै सहायता पठायौ । 17मैले उपहार खोजेको भने होइनँ । बरु, म तिमीहरूको हिसाबमा बढ्दै जाने फल खोज्छु ।18मैले सबै कुराहरू पूरा प्राप्त गरेको छु, र मसँग ती प्रशस्त छन् । म अहिले पूर्ण रूपमा भरिएको छु । तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ । ती सुगन्धित वासना आउने, ग्रहणयोग्य र परमेश्वरलाई प्रसन्न पार्ने बलिदान हुन् । 19मेरा परमेश्वरले ख्रीष्ट येशूमा उहाँको महिमाको प्रशस्तताअनुसार तिमीहरूका सबै आवश्यकताहरू पूरा गरिदिनुहुनेछ । 20अब हाम्रा परमेश्वर र पितालाई सदासर्वदा महिमा होस् । आमेन ।21ख्रीष्ट येशूमा भएका सबै परमेश्वरका पवित्र जनहरूहरूलाई अभिवादन गर । मसँग भएका भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । 22यहाँ भएका सबै परमेश्वरका पवित्र जनहरू, र विशेष गरेर कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । 23प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस् ।