1 त्यसपछि येशूले तिनीहरूलाई दृष्टान्तमा सिकाउन थाल्नुभयो । उहाँले भन्नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । तिनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि तिनी यात्रामा लागे । 2 ठिक समयमा तिनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना सेवक पठाए । 3 तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए । 4 फेरि तिनले अर्को सेवकलाई तिनीहरूकहाँ पठाए, तर तिनीहरूले त्यसको टाउकोमा चोट पुर्याए र लज्जास्पद रूपले व्यवहार गरे । 5 अझै तिनले अर्कोलाई पठाए र त्यसलाई तिनीहरूले मारे । तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे । 6 तिनीसँग पठाउनलाई अझै एक जना अर्थात् प्यारो छोरा मात्र थियो । तिनले तिनीहरूकहाँ पठाउन ऊ नै अन्तिम व्यक्ति थियो । तिनले भने, 'तिनीहरूले मेरो छोरालाई आदर गर्नेछन् ।' 7 तर दाख उमार्नेहरूले एक-आपसमा भने, “यो त उत्तराधिकारी हो । आओ, यसलाई मारौं र उत्तराधिकार हाम्रो हुनेछ ।” 8 तिनीहरूले उसलाई पक्रे, उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए । 9 यसकारण दाखबारीको मालिकले के गर्नेछन्? तिनी आउनेछन् र ती दाख उमार्नेहरूलाई नाश गर्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन् । 10 के तिमीहरूले यो धर्मशास्त्र पढेका छैनौ? ‘जुन ढुङ्गालाई निर्माणकर्ताहरूले अस्वीकार गरे, त्यही नै कुने-ढुङ्गो भएको छ । 11 त्यो परमप्रभुबाट थियो र यो हाम्रो दृष्टिमा आश्चर्यजनक छ ।'" 12 त्यसपछि यहूदी अगुवाहरूले येशूलाई पक्रने उपाय खोजे किनभने उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने । तर तिनीहरू भीडसित डराए । त्यसैले तिनीहरूले उहाँलाई छाडे र गए । 13 अनि उहाँलाई कुराहरूमा फसाउन तिनीहरूले फरिसीहरू र हेरोदियासहरूमध्ये कसै कसैलाई उहाँकहाँ पठाए । 14 जब तिनीहरू आए, तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं, कि तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्न, र तपाईंले मानिसहरूबीच कुनै भेदभाव गर्नुहुन्न । तपाईंले परमेश्वरको मार्ग सच्चा रीतिले सिकाउनुहुन्छ । कैसरलाई कर तिर्नु उचित हो वा होइन? हामी कर तिरौं कि नतिरौं?” 15 तर येशूले तिनीहरूको कपटलाई जान्नुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मलाई किन परीक्षा गर्छौ? मलाई एउटा दिनार ल्याओ ताकि म हेर्न सकूँ।” 16 तिनीहरूले एउटा दिनार येशूकहाँ ल्याए । उहाँले तिनीहरूलाई भन्नुभयो, “यो कसको स्वरूप र छाप हो?” तिनीहरूले भने, “कैसरको हो ।” 17 येशूले भन्नुभयो, “कैसरका चीजहरू कैसरलाई नै देओ र परमेश्वरका चीजहरू परमेश्वरलाई नै ।” तिनीहरू उहाँदेखि चकित भए । 18 त्यसपछि पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँकहाँ आए । तिनीहरूले उहाँलाई यसो भनेर सोधे, 19 “गुरुज्यू, मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु कुनै बालबच्चा नभईकन पत्नीलाई छौडेर मर्छ भने, त्यो मानिसले आफ्नो दाजुकी पत्नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्चा जन्माउनुपर्छ ।’ 20 त्यहाँ सात जना दाजुभाइ थिए, पहिलोले एउटी पत्नी ल्यायो र बच्चा नभई मर्यो । 21 दोस्रोले दाजुकी पत्नी लग्यो र कुनै बालबच्चा नभई त्यो मर्यो । अनि तेस्रोलाई पनि त्यस्तै भयो । 22 अनि सातै जना कुनैको पनि बालबच्चा भएन । अन्तमा त्यो स्त्री पनि मरी । 23 पुनरुत्थानमा तिनीहरू फेरि जीवित भई उठ्दा, त्यो कसकी पत्नी हुनेछे? किनकि ती सातै दाजुभाइले त्यसलाई पत्नीको रूपमा लिए । 24 येशूले भन्नुभयो, “तिमीहरूले गल्ती गरेको कारण यही होइन र? किनभने तिमीहरू न त धर्मशास्त्र न परमेश्वरको शक्तिको बारेमा जान्दछौ । 25 किनकि जब तिनीहरू मृत्युबाट जीवित भई उठ्छन्, तिनीहरूले न विवाह गर्छन् न त विवाहमा नै दिइन्छन्, तर तिनीहरू स्वर्गमा स्वर्गदूतहरूजस्ता हुन्छन् । 26 तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा झाडीको बिषयमा पढेका छैनौ? कि परमेश्वर तिनीसँग कसरी बोल्नुभयो र भन्नुभयो, ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ ।' 27 उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका हुनुहुन्छ । तिमीहरू धेरै गलत छौ ।” 28 शास्त्रीहरूमध्येका एक जना आए र तिनीहरूका छलफल सुने; येशूले तिनीहरूलाई राम्रो जवाफ दिनुभएको तिनले देखे । तिनले उहाँलाई सोधे, “सबैभन्दा महत्त्वपूर्ण आज्ञा कुन हो?” 29 येशूले जवाफ दिनुभयो, “सबैभन्दा महत्त्वपूर्णचाहिं यो हो, ‘सुन्, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्वर, एक मात्र परमप्रभु हुनुहुन्छ । 30 तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदय, आफ्नो सारा प्राण, आफ्नो सारा मन र आफ्नो सारा शक्तिले प्रेम गर्नुपर्छ ।’ 31 दोस्रो आज्ञा यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ ।’ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन ।” 32 शास्त्रीले भने, “गुरुज्यू, तपाईंले ठिक भन्नुभयो! परमेश्वर एक मात्र हुनुहुन्छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्नुभएको छ । 33 उहाँलाई सारा हृदय, सारा समझ र सारा शक्तिले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर्नु, सबै होमबलि र बलिदानहरूभन्दा पनि महान् हो ।” 34 जब तिनले बुद्धिमानीपूर्वक जवाफ दिएको येशूले देख्नुभयो, उहाँले तिनलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ ।” त्यसपछि कसैले पनि येशूलाई अरू प्रश्न गर्ने आँट गरेन । 35 येशूले मन्दिरमा सिकाउँदै गर्नुहुँदा उहाँले जवाफ दिनुभयो र भन्नुभयो, “शास्त्रीहरूले ख्रीष्टलाई कसरी दाऊदका पुत्र भन्छन्? 36 दाऊद आफैंले पवित्र आत्माद्वारा यसो भने, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, मेरो दाहिने हातमा बस, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टामुनि ल्याउँदिनँ ।’ 37 दाऊद आफैंले उहाँलाई ‘प्रभु’ भन्छन् भने ख्रीष्ट कसरी दाऊदका पुत्र हुन सक्छन् त?” ठुलो भीडले उहाँको कुरा खुसीसाथ सुन्यो । 38 येशूले आफ्नो शिक्षामा भन्नुभयो, “शास्त्रीहरूदेखि होसियार बस, जसले लामो वस्त्र लगाएर हिंड्न र बजारमा अभिवादन पाउन, 39 अनि सभाघरहरूमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन् । 40 तिनीहरूले विधवाहरूको घर पनि लुट्छन् र मानिसहरूले देखून् भनी लामो प्रार्थना गर्छन् । यी मानिसहरूले अझ ठुलो दण्ड पाउनेछन् ।” 41 त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्ने बस्नुभयो; मानिसहरूले भेटीको बाकसमा भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो । धेरै धनी मानिसले ठुलो रकम हाले । 42 त्यसपछि त्यहाँ एक जना गरिब विधवा आई र दुई माइट हाली, अर्थात् एक पैसा जति चढाई । 43 उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, यस गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छे । 44 किनकि सबैले आ-आफ्ना प्रशस्तताबाट दिए । तर यस विधवाले आफ्नो गरिबीबाट, आफ्नो जीविका धान्ने सबै पैसा नै अर्पण गरी ।”