To view a copy of the CC BY-SA 4.0 license visit
http://creativecommons.org/licenses/by-sa/4.0/
Notices:
You do not have to comply with the license for elements of the material in
the public domain or where your use is permitted by an applicable
exception or limitation.
No warranties are given. The license may not give you all of the
permissions necessary for your intended use. For example, other rights
such as publicity, privacy, or moral rights may limit how you use the
material.
२ तिमोथी
11पावल, परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित, ख्रीष्ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार, 2प्रिय बालक तिमोथीलाईः पिता परमेश्वर र हाम्रा प्रभु ख्रीष्ट येशूको अनुग्रह, कृपा र शान्ति ।3मैले दिन-रात तिमीलाई निरन्तर मेरो प्रार्थनामा सम्झिरहँदा म परमेश्वरलाई धन्यवाद चढाँउछु, जसको सेवा मेरा पुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्छु । 4तिम्रो आँसुको सम्झना गर्दै म तिमीलाई भेट्न चाहन्छु, ताकि म आनन्दले भरिन सकूँ । 5मलाई तिम्रो साँचो विश्वासको सम्झना भएको छ जुन सर्वप्रथम तिम्री हजुरआमा लोइस र तिम्री आमा युनिसमा थियो र त्यो तिमीमा पनि छ भन्ने कुरामा म विश्वस्त छु ।6यही कारणले गर्दा मैले तिमीमाथि हात राखेर तिमीले प्राप्त गरेको परमेश्वरको वरदानलाई फेरि प्रज्वलित पार भनी म तिमीलाई सम्झना गराउँदैछु । 7किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति र प्रेम र अनुशासनको आत्मा दिनुभयो ।8तब हाम्रा प्रभुको बारेमा गवाही दिन नशर्माऊ, न मेरो बारेमा, म पावल उहाँका एक कैदी हुँ । बरु, परमेश्वरको शक्तिअनुसार सुसमाचारको खातिर कष्टमा सहभागी होओ । 9उहाँ परमेश्वर हुनुहुन्छ जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो । उहाँले हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार यसो गर्नुभयो । उहाँले यी कुराहरू हामीलाई ख्रीष्ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभयो । 10तर अहिले हाम्रा मुक्तिदाता ख्रीष्ट येशूको आगमनद्वारा परमेश्वरको मुक्ति प्रकट गरिएको छ ।उहाँ ख्रीष्ट हुनुहुन्छ जसले मृत्युलाई नाश पार्नुभयो र सुसमाचारद्वारा कहिल्यै अन्त नहुने जीवन ल्याउनुभयो । 11त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्त भएको थिएँ । 12यसको निम्ति म पनि सतावटमा परेको छु । तर म शर्माऊँदिनँ, किनकि म उहाँलाई जान्दछु जसलाई मैले विश्वास गरेको छु । म विश्वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्न सक्नुहुन्छ । 13ख्रीष्ट येशूको विश्वास र प्रेममा तिमीले मबाट सुनेको असल शिक्षाको अनुसरण गर । 14जुन-जुन असल कुराहरू परमेश्वरले तिमीलाई सुम्पनुभएको छ, त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख ।15तिमीलाई यो थाहा छ, कि एसियामा हुनेहरू सबै मबाट तर्केर गएका छन् । यो समूहमा फुगेलस र हर्मोगेनस पर्छन् । 16प्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले प्रायःजसो मलाई उत्साह दिए र मेरा साङ्लाहरूको शर्म मानेनन् । 17बरु जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए । 18त्यस दिनमा प्रभुले उहाँबाट तिनलाई कृपा प्रदान गर्नुभएको होस् । तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।
21त्यसैकारण, मेरा बालक,ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होऊ । 2र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।3ख्रीष्ट येशूको असल सिपाहीझैं मसँग कष्ट भोग । 4सिपाहीमा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि त्यसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् । 5यदि कोही खेलाडीको रूपमा खेलमा भाग लिन्छ भने, त्यसले नियमअनुसार नखेली मुकुट जित्न सक्दैन ।6परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिलो भाग प्राप्त गर्नुपर्छ । 7मैले भनिरहेका कुरामा विचार गर, किनकि प्रभुले तिमीलाई सबै कुरामा समझशक्ति दिनुहुनेछ ।8दाऊदको वंशबाट आउनुभएका येशू ख्रीष्टको सम्झना गर, जो मृतकबाट जीवित भई उठ्नुभयो । यो मैले सुसमाचारको सन्देशमा भनेअनुसार हो, 9जुन कुराको लागि मैले अपराधीझैं बन्धनमा पर्ने अवस्थासम्म कष्ट भोगिरहेको छु । तर परमेश्वरको वचन बन्धनमा परेको छैन । 10त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले पनि अनन्तको महिमाका साथ ख्रीष्ट येशूमा भएको मुक्ति प्राप्त गरून् ।11यो भरोसायोग्य भनाइ होः “यदि हामी उहाँसँगै मरेका छौं भने, हामी उहाँसँगै जीवित पनि हुनेछौं । 12यदि हामी सहन्छौं भने, हामी पनि उहाँसँगै राज्य गर्नेछौं । यदि हामी उहाँलाई इन्कार गर्छौं भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ । 13यदि हामी उहाँमा विश्वासयोग्य छैनौं भनेतापनि उहाँ विश्वासयोग्य रहनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्न ।"14तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्वरको अगाडि चेतावनी देओ; यसले केही फाइदा गर्दैन र सुन्नेहरूलाई नोक्सान मात्र गर्छ । 15सत्यको वचनलाई ठीकसँग सिकाउने र शर्माउन नपर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरको उपस्थितिमा स्वीकारयोग्य तुल्याउन भरमग्दुर प्रयत्न गर ।16भक्तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्तिहीनतातर्फ डोर्याउँछ । 17तिनीहरूका कुरा निको नहुने सइनको घाउजस्तै फैलिनेछ । तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन्, 18जो सत्यताबाट बहकिएका छन् ।तिनीहरूले पुनरुत्थान पहिले नै भइसकेको छ भनेर भन्छन्, र केहीको विश्वासलाई नाश गर्छन् ।19तथापि परमेश्वरको दृढ जग स्थिर रहन्छ ।यसमा यस्तो छाप लागेको छ, “प्रभुले आफ्नाहरूलाई चिन्नुहुन्छ” र “जसले प्रभुको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहनुपर्छ ।" 20सम्पन्न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन् । त्यहाँ काठ र माटाका भाँडाहरू पनि हुन्छन् । यीमध्ये केही आदर र केही अनादरको निम्ति प्रयोग हुन्छन् । 21कसैले अनादरयोग्य प्रयोगबाट आफैलाई शुद्ध पार्छ भने, त्यो अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ ।22जवानीको अभिलाषाबाट अलग बस । शुद्ध हृदयले प्रभुलाई पुकार्नेहरूसँगै धार्मिकता, विश्वास, प्रेम, शान्तिको खोजी गर । 23तर मूर्ख र अज्ञानी प्रश्नहरूलाई इन्कार गर । तिमीहरूलाई थाहा छ कि तिनीहरूले वादविवादलाई ल्याउँछन् ।24प्रभुका सेवकहरूले झगडा गर्नुहुँदैन । बरु त्यो सबैप्रति दयालु, सिकाउन सक्ने र धैर्यवान् हुनुपर्छ । 25त्यसले आफ्ना विरोधीहरूलाई विनम्रतामा सिकाउनुपर्छ । सायद परमेश्वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्चात्ताप दिनुहुनेछ । 26तिनीहरू फेरि सचेत हुनेछन् र दुष्टको इच्छा पूरा गर्नको लागि तिनीहरू त्यसद्वारा पक्राउ भइसकेपछि त्यसको पासोबाट उम्कनेछन् ।
31तर यो जान कि अन्तिम दिनहरूमा खतरापूर्ण समय आउनेछ । 2किनकि मानिसहरू आफैलाई प्रेम गर्नेहरू, धनका प्रेमी, घमण्डी, हठी, अरूको निन्दा गर्ने, आमा बुबाले भनेको नमान्ने, कृतघ्न, अपवित्र, 3स्वाभाविक प्रेमरहित, पुनर्मिलाप गर्न नसक्ने, निन्दा गर्नेहरू, आत्म-नियन्त्रण गर्न नसक्ने, विद्रोही, असल नरुचाउने, 4ठगाहा, लापर्वाह गर्नेहरू, घमण्डी, परमेश्वरको प्रेमी हुनुको साटो सुखविलास प्रेमी हुनेछन् ।5तिनीहरूमा भक्तिको भेष हुनेछ, तर यसको शक्तिलाई भने इन्कार गर्नेछन् । यस्ता मानिसहरूबाट अलग बस । 6किनकि तिनीहरूमध्ये केही यस्ता मानिसहरू छन् जसले घर-घरमा पसेर मूर्ख स्त्रीहरूलाई अधीनमा पार्छन् । यी यस्ता स्त्रीहरू हुन् जो पापले थिचिएका र धेरै अभिलाषाले प्रभावित भएका छन् । 7यी स्त्रीहरू सधैं सिकिरहन्छन्, तर कहिल्यै सत्यको ज्ञानमा आउन सक्दैनन् ।8जसरी यान्नेस र याम्ब्रेस मोशाको विरुद्धमा खडा भए, त्यसरी नै यी झुटा शिक्षकहरू सत्यको विरुद्धमा खडा हुन्छन् । तिनीहरू भ्रष्ट मन भएको मानिसहरू हुन्, र विश्वासको सन्दर्भमा तिनीहरू झूटा प्रमाणित भएका छन् । 9तर तिनीहरू धेरै अगाडि जाने छैनन् । किनकि तिनीहरूको मूर्खता यी मानिसहरूको जस्तै सबै मानिसहरूलाई थाहा हुनेछ ।10तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्वास, धैर्य धारण, प्रेम, संयम, 11सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्त्रामा ममाथि आइपरेका कुराको अनुकरण गरेका छौ । मैले सतावटहरू सहें । प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो । 12ख्रीष्ट येशूको भक्तिमा जिउन चाहने सबै सतावटमा पर्नेछन् । 13दुष्ट मानिस र ठगाहाहरू, अरूहरू र तिनीहरू आफैँलाई भड्काउँदै, खराबबाट अझ खराब हुनेछन् ।14तर तिमीचाहिं सिकेका र बलियोसँग विश्वास गरेको कुराहरूमा लागि राख, यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ । 15तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको लागि तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ ।16सम्पूर्ण पवित्रशास्त्र परमेश्वरबाट प्रेरित भएको हो । यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ, 17ताकि परमेश्वरको मानिस सक्षम भएर हरेक असल कामको लागि सुसज्जित हुन सकून् ।
41परमेश्वर र ख्रीष्ट येशूको सामने, जसले जिउँदा र मरेकाहरूको न्याय गर्नुहुनेछ, उहाँको आगमन र राज्यको कारण, म तिमीहरूलाई कडा आज्ञा दिन्छुः 2वचन प्रचार गर; सजिलो र असजिलो दुवै अवस्थामा तयार बस । सबै प्रकारका धैर्य र शिक्षाद्वारा सुधार गर, हप्काऊ र अर्ती देऊ ।3त्यस्तो समय आउनेछ जब मानिसहरूले असल शिक्षा सहने छैनन् । बरु, तिनीहरू आफ्नो अभिलाषाअनुसारका शिक्षकहरूको थुप्रो लगाउनेछन् जसले तिनीहरूका चिलाइरहेका कानले सुन्न चाहेका कुराहरू गर्छन् । 4तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन् र दन्त्य कथातिर लाग्नेछन् । 5तर तिमी सबै कुरामा सचेत होऊ । कष्ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पूरा गर ।6किनकि म अगिबाट नै बलिको रूपमा अर्पित भइरहेको छु । मेरो बिदाइको समय आएको छ । 7मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छु; मैले दौड सिध्याएको छु; मैले विश्वासलाई जोगाइराखको छु । 8मेरो लागि धार्मिकताको मुकुट राखिएको छ, जुन त्यस दिनमा धार्मिक न्यायाधीश प्रभुले मलाई दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्ने सबैलाई ।9जतिसक्दो छिटो मकहाँ आऊ । 10किनकि डेमासले मलाई छोडिदिए । यस वर्तमान संसारलाई प्रेम गरेर तिनी थेसलोनिकेमा गएका छन् । क्रेसेन्स गलातियामा गए र तीतसचाहिं दलमातियामा गए ।11लूका मात्र मसँग छन् । मर्कूसलाई तिमीसँगै लिएर मकहाँ आऊ, किनभने काममा तिनी मेरो लागि उपयोगी छन् । 12तुखिकसलाई मैले एफिससमा पठाए । 13तिमी आउँदा मैले त्रोआसमा कार्पससित छाडेका कपडा र किताबहरू, विशेष गरी चर्मपत्रका मुट्ठाहरू लिएर आऊ ।14तमौटे अलेक्जेन्डरले मप्रति धेरै खराब व्यवहार देखायो । प्रभुले त्यसलाई त्यसका कामहरूअनुसारको बदला लिनुहुनेछ । 15तिमी पनि त्यससँग होसियार होऊ, किनभने त्यो हाम्रो वचनको विरुद्धमा जोडदारसँग खडा भयो । 16मेरो पहिलो प्रतिरक्षामा कसैले मलाई साथ दिएन । बरु, सबैले मलाई छाडे । तिनीहरूको विरुद्धमा त्यो नगनियोस् ।17तर प्रभु मसँग उभिनुभयो र मलाई बलियो बनाउनुभयो, ताकि मद्वारा सुसमाचारको पूर्ण रूपमा घोषणा हुन सकोस् र सबै गैरयहूदीहरूले सुन्न पाऊन् । र मैले सिंहको मुखबाट छुटकारा पाएँ । 18प्रभुले मलाई सबै दुष्ट कामबाट छुटकारा दिनुहुनेछ, र उहाँको स्वर्गीय राज्यको लागि बचाउनुहुनेछ । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन ।19प्रिस्किला, अकिलास र ओनेसिफरसको घरानालाई अभिवादन गर । 20इरास्तस कोरिन्थमा नै बसे, तर त्रोफिमसलाई मैले बिरामी अवस्थामा मिलेटसमा छोडें । 21हिउँद लाग्नुभन्दा अगाडि नै मकहाँ आउने कोसिस गर । युबुलसले तिमीलाई अभिवादन पठाएका छन् र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि । 22प्रभु तिम्रो आत्मामा हुनुभएको होस् । तिमीसँग अनुग्रह रहोस् । आमेन ।