To view a copy of the CC BY-SA 4.0 license visit
http://creativecommons.org/licenses/by-sa/4.0/
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र
11पावल, परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टका प्रेरित, र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएको परमेश्वरको मण्डली र अखैयाको सम्पूर्ण क्षेत्रमा रहेका परमेश्वरका सबै पवित्र जनहरुलाई, 2हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस्।3हाम्रो परमेश्वर र प्रभु येशू ख्रीष्टका पितालाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ । 4परमेश्वरले हाम्रा सारा दुःख कष्टमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौं । परमेश्वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौं।5किनकि जसरी हाम्रो निम्ति ख्रीष्टको कष्ट प्रशस्त छ, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वना प्रशस्त हुन्छ । 6तर यदि हामीले दुःख भोग्यौं भने, यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो, र यदि हामीले सान्त्वना पायौं भने यो तिमीहरूको सान्त्वनाको निम्ति हो । तिमीहरू हाम्रो दुःखमा धैर्यसाथ सहभागी हुँदा तिमीहरूको सान्त्वनाले प्रभावकारी रूपले काम गरिरहेको हुन्छ । 7तिमीहरूको बारेमा हाम्रो आशा दृढ छ, किनकि हामीलाई थाहा छ कि तिमीहरू दुःखमा सहभागी हुँदा सान्त्वनामा पनि सहभागी हुन्छौ।8किनकि भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्ने हामी चाहन्नौं । हामीले सहन नसक्ने किसिमले हामी मिचिएका थियौं, यति साह्रो कि हामीले बाँच्ने आशा नै मारेका थियौं । 9वास्तवमा, हामीमाथि मृत्युदण्ड थियो । तर त्यो हामी आफैंमा होइन,तर मृतकहरूलाई जीवित पार्नुहुने परमेश्वरमाथि भरोसा गर्न सकौं भनेर भएको थियो । 10उहाँले हामीलाई यस्तो घातक जोखिमबाट बचाउनुभयो र फेरि पनि बचाउनुहुनेछ । उहाँले हामीलाई फेरि पनि बचाउनुहुनेछ भन्ने उहाँमा हामीले आशा राखेका छौं।11उहाँले यसो गर्नुहुनेछ जसरी तिमीहरूले पनि हामीलाई आफ्ना प्रार्थनाद्वारा सहायता गर्छौ । त्यसपछि धेरैको प्रार्थनाद्वारा हामीलाई दिइएको निगाहको लागि धेरैले हाम्रो तर्फबाट धन्यवाद दिनेछन् ।12हाम्रो गर्व यो हो: हाम्रो अन्तस्करणको गवाहीमा हामीले संसारमा निष्ठा र ईश्वरीय इमानदारीका साथ चलेका छौं, शारीरिक बुद्धिमा भर परेर होइन तर परमेश्वरको अनुग्रहमा। 13हामी तिमीहरूले पढ्न र बुझ्न नसक्ने गरी केही पनि लेख्दैनौं, र म आशा गर्छु कि तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ। 14जसरी तिमीहरूले हामीलाई केही मात्रमा बुझ्यौ, कि तिमीहरूले हाम्रा प्रभु येशूको दिनमा हामीमाथि गर्व गर्न सक्छौ, जसरी हामी तिमीहरूमा गर्व गर्नेछौं ।15यो कुरामा म विश्वस्त भएको कारण, म पहिला तिमीहरूकहाँ आउन चाहन्थें, ताकि तिमीहरूले दोस्रो निगाह पाउन सक। 16माकेडोनिया जाने बाटोमा म तिमीहरूलाई भेट्ने योजना बनाउँदै थिएं। त्यसपछि माकेडोनियाको मेरो यात्रापछि फेरि तिमीहरूलाई भेट्न चाहन्थें, र तिमीहरूले मलाई यहूदिया जाने बाटोमा पठाएको चाहन्थें।17जब म यसरी सोचिरहेको थिएँ, के म हिचकिचाइरहेको थिएँ? के म एकै समयमा "हो, हो" र "होइन, होइन" भन्नका लागि शरीरअनुसार योजना बनाउँछु? 18तर जसरी परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, तिमीहरूलाई हाम्रो वचन "हो" र "होइन" होइन।19किनकि परमेश्वरका पुत्र, येशू ख्रीष्ट, जसलाई सिलास, तिमोथी र मैले तिमीहरूमाझ घोषणा गर्यौं, जो चाहिं “हो” र “होइन” हुनुहुन्न । बरु, उहाँ सदा “हो” हुनुहुन्छ । 20किनकि परमेश्वरका सबै प्रतिज्ञा उहाँमा “हो” नै हुन्छन् । त्यसैले, उहाँद्वारा नै हामीले परमेश्वरको महिमालाई “आमेन” भन्छौं।21अब परमेश्वर हुनुहुन्छ जसले हामीलाई ख्रीष्टमा तिमीहरूसँग स्थापित गर्नुहुन्छ, र उहाँले हामीलाई अभिषेक गर्नुभयो, 22उहाँले आफ्नो छाप हामीमा लगाउनुभयो र पछि आउने कुराको बैनाको रूपमा हाम्रा हृदयमा पवित्र आत्मा दिनुभयो।23तर म परमेश्वरलाई मेरो आत्माको साक्षीको रूपमा भन्दछु कि तिमीहरूलाई बचाउन सकूँ भनेर म कोरिन्थमा आइनँ 24यो यसकारण होइन कि हामी तिमीहरूको विश्वासमाथि प्रभु बन्न चाहन्छौं। बरु, हामी तिमीहरूको आनन्दको लागि तिमीहरूसँगै सङ्गी सेवकहरू हौं, जसै तिमीहरू आफ्नो विश्वासमा खडा रहन्छौ।
21त्यसैले मैले आफ्नो तर्फबाट तिमीहरूकहाँ दुःखमा फेरि नआउने निर्णय मैले गरें । 2यदि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने, मैले जसलाई दुःखित तुल्याएँ त्यसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ र?3मैले जे लेखें, त्यो यसकारण लेखें कि म तिमीहरूकहाँ आउँदा जुन व्यक्तिहरूले मलाई आनन्दित तुल्याउनुपर्ने थियो तिनीहरूद्वारा म दुःखित नहोऊँ । मेरो आनन्द तिमीहरू सबैमा भएको आनन्द जस्तै छ भन्ने कुरामा म निश्चित छु । 4किनकि मैले ठुलो कष्ट, हृदयको पीडा र धेरै आँसुका साथमा तिमीहरूलाई लेखें। मैले तिमीहरूलाई दुःखी बनाउनको लागि लेखेको होइन। बरु, तिमीहरूप्रति भएको मेरो प्रेमको गहिराइ तिमीहरूले थाहा पाओ भन्ने म चाहन्थें।5यदि कसैले दुःख दिएको छ भने, त्यसले मलाई मात्र होइन, तर केही हदसम्म—(तिमीहरूलाई बोझ नदिन)—तिमीहरू सबैलाई दुःखित तुल्याएको छ । 6त्यो व्यक्तिलाई अधिकांशबाट दिइएको सजाय पर्याप्त छ । 7त्यसैले अब त्यसलाई सजायको साटो तिमीहरूले क्षमा र सान्त्वना देओ । यसो गर ताकि त्यसले धेरै दुःखबाट हरेस नखाओस् ।8त्यसैले त्यसको लागि तिमीहरूको प्रेम पुष्टि गर्न म तिमीहरूलाई आग्रह गर्छु। 9मैले लेख्नुको कारण यही थियो, ताकि म तिमीहरूलाई जाँच्न सकूँ र जान्न सकूँ कि तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ। ।10यदि तिमीहरूले कसैलाई क्षमा दियौ भने, म पनि त्यस व्यक्तिलाई क्षमा दिन्छु। जुन मैले क्षमा दिएको छु—यदि मैले केही क्षमा दिएको छु भने—त्यो तिमीहरूका खातिर ख्रीष्टको उपस्थितिमा क्षमा गरिएको छ, 11ताकि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि हामी त्यसका युक्तिहरूका विषयमा अजान छैनौं।12जब म ख्रीष्टको सुसमाचार प्रचार गर्न त्रोआस सहर आएँ, त्यहाँ मेरो लागि प्रभुले एउटा ढोका खोलिदिनुभएको थियो। 13मलाई मेरो आत्मामा चैन भएन किनभने मैले मेरा भाइ तीतसलाई त्यहाँ भेटिनँ। त्यसैले तिनीहरूलाई छोडेर म माकेडोनियातर्फ लागे।14तर परमेश्वरलाई धन्यवाद होस्, जसले ख्रीष्टमा हामीलाई सधैं विजयमा डोर्याउनुहुन्छ। हामीद्वारा उहाँले सबैतिर ज्ञानको सुबास्ना प्रकट गर्नुहुन्छ। 15किनकि हामी परमेश्वरको निम्ति ख्रीष्टका सुबास्ना हौं, दुवै उद्धार पाएकाहरू र नष्ट भइरहेकाहरूका बीचमा पनि।16नष्ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको दुर्गन्ध हो । अनि उद्धार पाएकाहरूको लागि जीवनदेखि जीवनसम्मको सुबास्ना हो । यी कुराहरूका लागि को योग्यको छ? 17हामी नाफाको लागि परमेश्वरको वचन बेच्ने धेरै मानिसहरूजस्ता होइनौं । बरु, हामी ख्रीष्टमा शुद्ध अभिप्रायले परमेश्वरको दृष्टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्छौं।
31के हामी फेरि आफ्नै प्रशंसा गर्न लागिरहेका छौं? केही मानिसहरूलाई जस्तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन, छ र? 2तिमीहरू नै हाम्रो हृदयमा लेखिएको सिफारिस पत्र हौ जसलाई सबै मानिसले जानेका र पढेका छन्। 3तिमीहरूले यो देखाउछौं कि तिमीहरू ख्रीष्टका पत्र हौ, हाम्रा सेवाको परिणाम। यो मसीले होइन, तर जीवित परमेश्वरको आत्माबाट लेखिएको थियो। यो ढुङ्गाको पाटीमा लेखिएको थिएन, तर मानिसहरूका हृदयका पाटीमा लेखिएको थियो।4र यो ख्रीष्टद्वारा परमेश्वरसामु हामीमा भएको आत्मविश्वास हो। 5कुनै पनि कुरा हामीबाट आइरहेको छ भनेर दाबी गर्न हामी आफै योग्य छैनौं। बरु, हाम्रो योग्यता परमेश्वरबाट हो। 6परमेश्वर नै हुनुहुन्छ जसले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभयो। यो करार अक्षरबाट होइन, तर आत्माबाट हो। किनकि अक्षरले मार्छ, तर आत्माले जीवन दिन्छ।7अब मृत्यु ल्याउने सेवा—ढुङ्गामा कुँदिएका अक्षरहरू—यस्तो महिमासँग आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन्। यो तिनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्द हुँदै थियो। 8आत्माको सेवा झन् कति धेरै महिमित होला?9किनकि यदि निन्दापूर्ण सेवाको महिमा थियो भने धार्मिकताको सेवा अझ कति धेरै महिमित हुन्छ! 10किनकि वास्तवमा जुन एक समय महिमित पारिएको थियो, त्यसलाई उछिन्ने महिमाको कारण अब त्यो महिमित छैन। 11किनकि यदि बितेर गएको कुराको महिमा थियो भने, सधैंको लागि रहने कुराको झन् कति धेरै महिमा हुनेछ!12हामीसँग यस्तो आशा भएकोले हामी धेरै साहसी छौं। 13हामी मोशाजस्ता छैनौं जसले हराउँदै गरेको महिमाको अन्त्य इस्राएलीहरूले सिधै देख्न नसकून् भनेर आफ्नो अनुहारमा घुम्टो लगाए।14तर तिनीहरूका मन कठोर पारिएका थिए । किनकि पुरानो करार पढ्दा आजको दिनसम्म पनि त्यो घुम्टो रहिरहन्छ। त्यो हटाइएको छैन, किनभने ख्रीष्टमा मात्र यो हटाइन्छ। 15तर आज पनि जब मोशाको बारेमा पढिन्छ, तिनीहरूको हृदय घुम्टोले ढाक्छ। 16तर जब कोही व्यक्ति परमप्रभुमा फर्किन्छ, तब घुम्टो हटाइन्छ।17अब प्रभु आत्मा हुनुहुन्छ। जहाँ प्रभुको आत्मा छ, त्यहाँ स्वतन्त्रता हुन्छ। 18अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं। हामी एक महिमादेखि अर्को महिमामा उक्लँदै त्यही महिमामा बद्लिँदै छौं, प्रभुबाट जस्तै, जो आत्मा हुनुहुन्छ।
41त्यसकारण, हामीसँग यो सेवाकाई भएको र हामीले यो दया पाएको कारणले गर्दा हामी निराश हुँदैनौं। 2बरु, हामीले गोप्य र लाजमर्दा मार्गहरू त्यागेका छौं। हामी धूर्ततामा हिंड्दैनौं र हामी परमेश्वरको वचनलाई गलत तरिकाले चलाउँदैनौं, तर सत्य प्रस्तुत गरेर,तर हामी आफैलाई सबैको अन्तस्करणमा परमेश्वरको नजरमा सिफारिस गर्छौं।3यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ। 4तिनीहरूको सन्दर्भमा, यस संसारको देवताले तिनीहरूको अविश्वासी दिमागलाई अन्धा पारिदिएको छ। फलस्वरूप, तिनीहरू ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्दैनन्, जो परमेश्वरको स्वरूप हुनुहुन्छ।5किनकि हामी आफैलाई घोषणा गर्दैनौं, तर येशूलाई प्रभुको रूपमा र आफैलाई येशूको खातिर तिमीहरूका सेवकको रूपमा घोषणा गर्छौं। 6किनकि परमेश्वर नै हुनुहुन्छ जसले भन्नुभयो, “अन्धकारबाट ज्योति चम्कनेछ।” येशू ख्रीष्टको उपस्थितिमा परमेश्वरको महिमाको ज्ञानको ज्योति दिन उहाँ हाम्रा हृदयमा चम्कनुभएको छ।7तर यो अति नै महान् शक्ति हामीसँग होइन, तर परमेश्वरसँग छ भन्ने स्पष्ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ। 8हामी सबैतिरबाट कष्टित भएका छौं, तर नष्ट पारिएका छैनौं। हामी अन्योलमा छौं तर निराशाले भरिएका छैनौं। 9हामी सताइएका छौं, तर त्यागिएका छैनौं; प्रहार गरेर ढलेका छौं; तर नाश पारिएका छैनौं। 10येशूको जीवन हाम्रा शरीरमा प्रकट होस् भनेर हामी हाम्रा शरीरमा सधैं येशूको मृत्युलाई बोकेर हिंडिरहेका छौं।11किनकि हामी जो जीवित छौं येशूको खातिर सधैं मृत्युको लागि सुम्पिएका छौं, ताकि येशूको जीवन हाम्रा मरणशील जीवनमा प्रकट होस्। 12त्यसैले मृत्यु हामीमा काम गरिरहेको छ, तर जीवनले तिमीहरूमा काम गरिरहेको छ।13“मैले विश्वास गरें, यसैले मैले बोलें।” भनेर लेखिएजस्तै हामीसँग विश्वासको उस्तै आत्मा छ। हामी विश्वास गर्छौं, र हामी बोल्छौं पनि 14किनभने हामीलाई थाहा छ, कि जसले प्रभु येशूलाई पुनः जीवित पार्नुभयो, उहाँले हामीलाई पनि उहाँसँगै पुनः जीवित पार्नुहुनेछ र हामीलाई तिमीहरूसँगै उहाँको उपस्थितिमा ल्याउनुहुनेछ। 15किनकि सबै कुरा तिमीहरूको निम्ति हो, ताकि धेरै भन्दा धेरै मानिसहरूमा फैलिरहेको अनुग्रहले परमेश्वरको महिमा बढाउन धन्यवाद दिने काम गराओस्।16त्यसकारण हामी हरेस खाँदैनौं। हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौं। 17किनकि यो क्षणिक, हलुको कष्टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्त महिमाको लागि तयार पारिरहेको छ। 18किनकि हामीले देखिने कुराहरूको होइन, तर नदेखिने कुराहरूलाई हेरिरहेका छौं। देखिने कुराहरू क्षणिक हुन्छन्, तर नदेखिने कुराहरूचाहिं अनन्तसम्म रहन्छन्।
51हामीलाई थाहा छ कि यदि हाम्रो पार्थिव शरीर—पाल— नष्ट भयो भने, हामीसँग परमेश्वरबाट एउटा भवन छ। यो मानिसका हातहरूले बनाएको घर होइन, तर स्वर्गमा रहेको अनन्तको घर हो। 2किनकि हाम्रो स्वर्गीय बासस्थानको पोशाक पहिरिने आशामा हामी यो पालमा पीडाले आर्तनाद गर्छौं । 3हामी यसको इच्छा गर्छौं किनभने यसलाई पहिरिएपछि हामी नाङ्गा हुनेछैनौं।4किनकि जबसम्म हामी यस पालमा छौं, बोझले भरिएर हामी आर्तनाद गर्छौं । हामी निर्वस्त्र हुन चाहँदैनौं। बरु हामी वस्त्र पहिरन चाहन्छौं ताकि जे मरणशील छ, त्यो जीवनद्वारा निलिएको होस्। 5हामीलाई यसको निम्ति तयार गर्नुहुने परमेश्वर नै हुनुहुन्छ, जसले हाम्रो निम्ति पछि आउने कुराको बैनाको रूपमा पवित्र आत्मा दिनुभयो।6त्यसैले, सधैं विश्वस्त रहो, यो जानेर कि जब हामी हाम्रो शारीरिक घरमा रहन्छौं, हामी प्रभुबाट टाढा रहन्छौं। 7किनकि हामी विश्वासद्वारा हिंड्छौं, देखिने कुराको आधारमा होइन। 8त्यसैले हामी विश्वस्त छौं। हामी शरीरबाट अलग रहेर प्रभुसँग घरमा हुन रुचाउँछौं।9त्यसैले हामी घरमा होऔं वा टाढा, उहाँलाई प्रसन्न तुल्याउनुलाई हामी हाम्रो उद्देश्य बनाउँछौं। 10किनकि हामी सबै ख्रीष्टको न्याय आसनको अगाडि खडा हुनुपर्छ, ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस्।11त्यसकारण, प्रभु येशूको भय मानेर, हामी मानिसहरूलाई मनाउँछौं। हामी को हौं भन्ने कुरा परमेश्वरले स्पष्ट देख्नुभएको छ, र म आशा गर्छु कि तिमीहरूको विवेकमा यो कुरा स्पष्ट छ। 12हामी फेरि तिमीहरूका सामु आफ्नो तारीफ गरिरहेका छैनौं, तर हामी तिमीहरूलाई हामीमाथि गर्व गर्ने कारण दिँदैछौं ताकि हृदयमा भएका कुराको बारेमा हैन तर बाहिरी रूपको धाक लगाउनेहरूको लागि तिमीहरूसँग जवाफ हुन सकोस्।13किनकि यदि हाम्रो होश ठिक ठाउँमा छैन भने त्यो परमेश्वरको लागि हो; र यदि हाम्रो होश ठिक ठाउँमा छ भने त्यो तिमीहरूको खातिर हो। 14किनकि ख्रीष्टको प्रेमले हामीलाई बाध्य पार्छ, किनभने हामीले यो निष्कर्ष निकालेका छौं: कि सबैको निम्ति एक जना मर्नुभएको हुनाले सबै मरेका छन् । 15उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू अब उसो आफ्नो लागि बाँच्ने होइन, तर उहाँको निम्ति जो तिनीहरूको खातिर मर्नुभयो र जीवित हुनुभयो।16यसकारण, अब उप्रान्त हामी कसैलाई शरीरअनुसार हेर्दैनौं। हामीले ख्रीष्टलाई एक समय शरीरअनुसारले हेरेको भएता पनि, अब उप्रान्त उहाँलाई त्यसरी हेर्नेछैनौं। 17त्यसकारण, कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुराना कुरा बितेर गएका छन्। हेर, ती नयाँ भएका छन् ।18यी सबै कुराहरू परमेश्वरबाट हुन्। उहाँले हामीलाई ख्रीष्टद्वारा उहाँसँग मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ। 19अर्थात्, तिनीहरूका पापका लेखा नलिएर परमेश्वरले ख्रीष्टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ। उहाँले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनुहुँदैछ।20त्यसैले परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभए झैं गरेर हामी ख्रीष्टका दूतको रूपमा नियुक्त गरिएका छौं। “परमेश्वरमा मिलापमा आओ !” भनेर हामी तिमीहरूसित ख्रीष्टको खातिर अनुरोध गर्छौं। 21पाप नजान्नेलाई उहाँले हाम्रा निम्ति पाप बनाउनुभयो, ताकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं।
61परमेश्वरका सहकर्मी भएका हुनाले हामी तिमीहरूलाई बिन्ती गर्छौं कि उहाँको अनुग्रहलाई व्यर्थमा नलेओ। 2किनकि उहाँ भन्नुहुन्छ, “मैले उपयुक्त समयमा तिम्रो वास्ता गरें, र मुक्तिको दिनमा मैले तिम्रो सहायता गरें।” 3हामी कसैको अगाडि ठेस लाग्ने कुरा राख्दैनौं, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्नौं।4बरु, हामी सबै कुरामा आफैलाई परमेश्वरका सेवकहरूको रूपमा प्रस्तुत गर्छौं—धेरै सहनशीलतामा, कष्टमा, विपत्तिमा, कठिनाइमा, 5पिटाइमा, कैदहरूमा, हुलदङ्गामा, कडा परिश्रममा, अनिंदा रातमा, भोकमा 6शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा, असल प्रेममा, 7वचनको सत्यतामा, परमेश्वरको शक्तिमा। हामीसँग दाहिने हात र देब्रे हातको लागि धार्मिकताको हतियार छ।8हामी मान र अपमान, निन्दा र प्रशंसामा काम गर्छौं, हामी ठगाहा झैं ठानिन्छौं, तापनि हामी साँचा हौं। 9हामी नचिनिएका व्यक्तिहरूले झैं काम गर्छौं, तापनि हामी चिनिएका छौं, मर्न लागेका झैं—हेर!—तापनि हामी अझै बाँचिरहेका छौं, हामीले हाम्रा कामका सजाय पाएका झैं छौं, तापनि हामी मारिएका छैनौं। 10हामी अफसोसी झैं काम गर्छौं, तापनि हामी सधैं रमाइरहेका छौं, गरिब झैं काम गर्छौं, तापनि हामी धेरैलाई धनी बनाउँछौं, केही नभए झैं काम गर्छौं, तापनि हामीसँग सबै थोक छ।11हे कोरिन्थीहरू हो, हामीले तिमीहरूलाई सबै साँचा कुराहरू बताएका छौं र हाम्रो हृदय खुल्ला छ। 12तिमीहरू हामीबाट नियन्त्रित छैन, तर तिमीहरूका आफ्नै भावनाद्वारा नियन्त्रित छौ। 13अब यसको सट्टामा—म बालकहरूसँग झैं बोल्छु—कि आफ्नो हृदयलाई पनि खुल्ला राख।14अविश्वासीहरूसँगै एकै जुवामा ननारिओ। किनकि धार्मिकताको अधर्मसित के सहभागिता? अनि ज्योतिको अन्धकारसित के संगति? 15ख्रीष्टको बेलिआलसित के सम्झौता? वा विश्वासीहरूको अविश्वासीहरूसँग के सहभागिता? 16र परमेश्वरको मन्दिर र मूर्तिहरूबीच के सम्झौता? किनकि हामी जीवित परमेश्वरको मन्दिर हौं, जसरी परमेश्वरले भन्नुभयो: “म तिनीहरूमा वास गर्नेछु र तिनीहरूका बीचमा हिंड्नेछु, र म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”17त्यसकारण, “तिनीहरूका माझबाट बाहिर निस्केर आओ र आफूलाई अलग गर,” परमप्रभु भन्नुहुन्छ। “अशुद्ध कुरा केही नछोओ र म तिमीहरूलाई अपनाउनेछु। 18म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
71प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा अशुद्ध पार्ने सबै कुराहरूबाट आफैलाई शुद्ध पारौं। हामी परमेश्वरको भयमा पवित्रतालाई पछ्याऔं।2हाम्रा निम्ति ठाउँ बनाओ! हामीले कसैको खराबी गरेका छैनौं। हामीले कसैलाई भ्रष्ट पारेका छैनौं, न त कसैको फाइदा लिएका छौं। 3मैले तिमीहरूलाई दोषी ठहर्याउन यो भनेको होइन। किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ, सँगै मर्न र बाँच्नको निम्ति। 4तिमीहरूमाथि मेरो ठुलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु । म सान्त्वनाले भरिएको छु। हाम्रा सबै कष्टमा पनि म आनन्दले भरिएको छु।5हामी माकेडोनिया आउँदा हाम्रो शरीरले आराम पाएन। बरु, बाहिरका सङ्घर्षहरू र भित्रका भयहरूबाट हामी हरतरहले सताइएका थियौं। 6तर निरुत्साहितहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनबाट हामीलाई सान्त्वना दिनुभयो। 7तिनको आगमनले मात्र हामीलाई परमेश्वरले सान्त्वना दिनुभएन। तर तीतसले तिमीहरूबाट प्राप्त गरेको सान्त्वनाबाट पनि हो। तिनले तिमीहरूको महान् स्नेह, तिमीहरूको दुःख र मेरो निम्ति तिमीहरूको जोशको बारेमा बताए। त्यसैले, म अझ धेरै आनन्दित भएँ।8मेरो पत्रले तिमीहरूलाई दुःखित तुल्याएको भए तापनि म यसको लागि पछुताउँदिनँ। तर मलाई पछुतो भयो जब मैले देखें कि मेरो पत्रले तिमीहरूलाई दुःखी बनायो, तर थोरै समयको लागि मात्र। 9अब म खुसी छु, किनकी तिमीहरू दुःखी भएको कारणले होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्चात्तापसम्म डोर्यायो। तिमीहरूले ईश्वरीय दुःखको महसुस गर्यौ, त्यसैले हाम्रो कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौ। 10किनकि ईश्वरीय दुःखले पश्चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्तिको काम पूरा गर्छ। तर सांसारिक दुःखले मृत्यु ल्याउँछ।11हेर, यस ईश्वरीय दुःखले तिमीहरूमा कति ठुलो लगनशीलता उत्पन्न गरायो। तिमीहरू निर्दोष थियौ भनी प्रमाणित गर्ने संकल्प तिमीहरूमा कति ठूलो थियो। तिमीहरूको क्रोध, तिमीहरूको डर, तिमीहरूको तृष्णा,तिमीहरूको जोस, र न्याय होस् भनेर हेर्ने तिमीहरूको चाहना कति ठूलो थियो! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैलाई निर्दोष प्रमाणित गरेका छौ। 12मैले तिमीहरूलाई लेखेतापनि, त्यो खराबी गर्ने वा खराबी भोग्नेको खातिर मैले लेखिनँ, तर हामीप्रति तिमीहरूको लगनशीलता परमेश्वरको दृष्टिमा तिमीहरूलाई प्रकट होस्।13यही कारणले हामी उत्साहित हुन्छौं।हामी हाम्रो सान्त्वनामा साथै तीतसको आनन्दमा पनि अझै रमायौं किनभने तिमीहरू सबैद्वारा तिनको आत्मालाई स्फूर्ति मिलेको थियो। 14किनकि यदि मैले तिनीसँग तिमीहरूको बारेमा गर्व गरें भनेपनि, म लाजमा परिनँ। यसको विपरीत, जसरी तिमीहरूलाई हामीले भनेका सबै कुरा साँचा थिए, त्यसरी नै तिमीहरूको बारेमा हामीले तीतससँग गरेको गर्व पनि सत्य ठहरियो ।15तिमीहरूका लागि तिनको स्नेह अझ बढि छ किनकि तिनले तिमीहरू सबैको आज्ञाकारितालाई सम्झन्छन्, कसरी तिमीहरूले डर र कम्पका साथ तिनलाई स्वागत गर्यौ। 16म रमाउँछु किनभने तिमीहरूमाथि मेरो पूर्ण भरोसा छ।
81भाइहरू हो, माकेडोनियाका मण्डलीहरूलाई परमेश्वरले दिनुभएको अनुग्रहको बारेमा तिमीहरूले थाहा पाएको हामी चाहन्छौं। 2कष्टको भयङ्कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति र घोर दरिद्रताले उदारताको ठुलो धन उत्पन्न गरायो।3किनकि म गवाही दिन्छु कि तिनीहरूले सक्ने जति दिए, र आफूले सक्नेभन्दा पनि बढ्ता, र आफ्नो स्वेच्छाले 4तिनीहरूले परमेश्वरका पवित्र जनहरूको बीचको सेवामा सहभागिताको अवसरको लागि हामीहरूसँग धेरै जोशका साथ बिन्ती गरे। 5हामीले आशा गरेजस्तै यो भएन, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा सुम्पिदिए र त्यसपछि परमेश्वरको इच्छाअनुसार आफैलाई हामीकहाँ सुम्पिदिए।6त्यसकारण, हामीले यो काम सुरू गरिसकेका तितसलाई तिमीहरूका माझमा अनुग्रहको यो काम पूरा गर्न अनुरोध गर्यौं। 7तर तिमीहरू सबै कुरामा प्रशस्त छौ—विश्वासमा, बोलीमा, ज्ञानमा, सबै लगनशीलतामा र हामीप्रतिको तिमीहरूको प्रेममा। त्यसरी नै तिमीहरू यस अनुग्रहको काममा पनि प्रशस्त होओ। 8म यसलाई आज्ञाको रूपमा भन्दिनँ तर तिमीहरूको प्रेमको इमानदारी अरू मानिसहरूको तत्परतासँग तुलना गरेर जाँच्नको निम्ति म यो भन्छु। 9किनकि हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ। उहाँ धनी हुनुभएतापनि तिमीहरूका खातिर गरिब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी बन्न सक।10यस कुरामा म तिमीहरूलाई सल्लाह दिन्छु जसले तिमीहरूलाई सहयोग मिल्नेछ। एक वर्षअघि, तिमीहरूले केही कुरा सुरु मात्र गरेनौ, तर त्यो गर्ने चाहना पनि गर्यौ। 11अब यसलाई पूरा गर। जसरी त्यस बेला तिमीहरूमा केही गर्ने तत्परता र चाहना थियो, तिमीहरूले त्यसलाई पूरा गर्न पनि जति सक्दो प्रयास गर। 12किनकि यदि तिमीहरू यो काम गर्न तत्पर छौ भने, यो असल र ग्रहणयोग्य कुरा हो। यो कुनै व्यक्तिसँग के छ त्यसमा आधारित हुनुपर्छ, त्यससँग नभएको कुरामा होइन।13किनकि यो अरूहरूको सहजता, र तिमीहरूको कष्टको लागि होइन, तर समानताको खातिर हो। 14तिमीहरूमा अहिले भएको प्रशस्तताले तिनीहरूको आवश्यकता पूरा गर्नेछ। यो यसकारणले पनि हो कि तिनीहरूका प्रशस्तताबाट तिमीहरूका आवश्यकताहरू पूरा हुन सकोस् र त्यहाँ समानता कायम होस्। 15यसरी लेखिएको छः “धेरै हुनेसँग केही बाँकी रहेन, र थोरै हुनेसँग कुनै अभाव भएन।”16तर परमेश्वरलाई धन्यवाद होस्, जसले तीतसको हृदयमा तिमीहरूको निम्ति ममा भएजस्तै साँचो फिक्री हालिदिनुभयो। 17किनकि तिनले हाम्रो अनुरोधलाई ग्रहण मात्र गरेनन्, तर तिनी यसप्रति धेरै उत्साहित पनि भए। तिनी आफ्नै स्वतन्त्र इच्छाले तिमीहरूकहाँ आए।18सुसमाचार प्रचार गर्ने कामको लागि सारा मण्डलीहरूको माझमा प्रशंसा गरिएका भाइलाई हामीले तिनको साथमा पठाएका छौं। 19यति मात्र होइन, तर प्रभुको महिमा र हाम्रो असल इच्छाको लागि हामीद्वारा प्रशासित भएको अनुग्रहको यो कार्यद्वारा तिनलाई हाम्रो यात्राको सहयात्री हुनलाई मण्डलीहरूले पनि चुनेका थिए।20हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी बेवास्ता गरिरहेका छौं। 21हामी प्रभुको अगाडि मात्र होइन, तर मानिसहरूको अगाडि पनि असल काम गर्ने कुरामा ख्याल राख्छौं।22हामी अर्को भाइलाई पनि तिनीहरूसँग पठाउँदैछौं। हामीले तिनको धेरै किसिमले जाँच गर्यौं र हामीले तिनलाई धेरै कार्यहरूका लागि लगनशील पाएका छौं। तिमीहरूप्रति भएको ठूलो विश्वासको कारण तिनी अहिले झनै उत्सुक छन्। 23तीतसको सन्दर्भमा भन्नुपर्दा, तिनी मेरो साथी र तिमीहरूका लागि सहकर्मी हुन्। हाम्रा भाइहरूका सन्दर्भमा भन्नुपर्दा, तिनीहरू मण्डलीहरूबाट पठाइएका दूतहरू हुन्। तिनीहरू ख्रीष्टका महिमा हुन्। 24त्यसैले तिनीहरूलाई तिमीहरूको प्रेमको प्रमाण देखाओ, र मण्डलीहरूलाई तिमीहरूको बारेमा हामीले गर्व गरेको कारण देखाओ।
91परमेश्वरको पवित्र जनहरूको सेवा-कार्यको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ। 2मलाई तिमीहरूको चाहना थाहा छ, जसको बारेमा मैले माकेडोनियामा भएका मानिसहरूलाई गर्वका साथ बताएँ। गएको वर्षदेखि अखैया तयार हुँदै आइरहेको छ भनेर मैले तिनीहरूलाई भनें। तिमीहरूको उत्सुकताले तिनीहरूमध्ये धेरै जसोलाई कार्यमा प्रेरित गरेको छ।3अब मैले भाइहरूलाई तिमीहरूकहाँ पठाएको छु ताकि तिमीहरूका निम्ति हामीले गरेको गर्व व्यर्थ नहोस्, र तिमीहरू पनि मैले भने जस्तै गरी तयार हुन सक। 4नत्रता, यदि माकेडोनियाका कोही मसँगै आउँदा तिमीहरू तयार नभएको पाए भने, हामी शर्ममा पर्नेछौं—तिमीहरूमा यति विश्वस्त भएको हुनाले—तिमीहरूको बारेमा म केही भन्दिनँ। 5त्यसैले भाइहरूलाई तिमीहरूकहाँ जानलाई र तिमीहरूले प्रतिज्ञा गरेको उपहारहरू अगाडि नै प्रबन्ध गर्नलाई बिन्ती गर्न मैले आवश्यक ठानें। यो करकापले होइन, तर आशिष्को रूपमा तयारी हुन सकोस् भनेर यसो गरिएको हो।6यसको अर्थ होः थोरै छर्नेले पनि थोरै कटनी गर्नेछ, र आशिष् पाउने उद्देश्यले छर्नेले पनि आशिष्कै कटनी गर्नेछ। 7प्रत्येकले आफ्नो हृदयमा योजना गरेअनुसार देओस्, अनिच्छुकतामा वा बाध्यतामा होइन, किनकि परमेश्वरले खुसीसाथ दिनेलाई प्रेम गर्नुहुन्छ।8र परमेश्वर सबै अनुग्रहलाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्षम हुनुहुन्छ, ताकि, सधैं, सबै कुराहरूमा, तिमीहरूलाई चाहिने सबै कुरा पाउन सक। तिमीहरू हरेक असल काममा प्रशस्त हुन सक भनेर यसो हुनेछ। 9यो लेखिएको छ: "उहाँले आफ्नो धन बाँड्नुभएको छ र ती गरिबहरूलाई दिनुभएको छ। उहाँको धार्मिकता सदासर्वदा रहन्छ।"10उहाँ जसले किसानलाई रोप्ने बीउ र खानाको निम्ति रोटी जुटाउनुहुन्छ, तिमीहरूको बिउलाई रोप्नको लागि उपलब्ध गराउनुभएर वृद्धि पनि गराउनुहुनेछ। उहाँले तिमीहरूको धार्मिकताको फलहरूलाई वृद्धि गर्नुहुनेछ। 11तिमीहरू हर किसिमले धनी तुल्याइनेछौ ताकि तिमीहरूले उदारसँग दिन सक। यसले हामीद्वारा परमेश्वरप्रति चढाउने धन्यवाद उत्पन्न गराउनेछ।12किनकि यो सेवाको कामले परमेश्वरको पवित्र जनहरूको खाँचो मात्र पूरा हुँदैन, तर यो परमेश्वरलाई धन्यवाद दिने विभिन्न काममा पनि भरिभराउ हुँदै जान्छ। 13सेवाको कामले तिमीहरू जाँचिंदा र प्रमाणित हुँदा येशू ख्रीष्टको सुसमाचारलाई स्वीकार गर्ने आज्ञाकारिताको कारण तिमीहरूले परमेश्वरलाई पनि महिमित तुल्याउनेछौ। तिमीहरूले तिनीहरूलाई र सबैलाई उदारसँग दिएको योगदानद्वारा पनि परमेश्वरलाई महिमित तुल्याउनेछौ। 14तिनीहरूले तिमीहरूको चाहना गरेका छन् र तिमीहरूको निम्ति प्रार्थना गरिरहेका छन्। तिमीहरूमा भएको परमेश्वरको महान् अनुग्रहको कारण तिनीहरू यसो गर्छन्। 15व्यक्त गर्न नसकिने वरदानको लागि परमेश्वरलाई धन्यवाद होस्!
101म, पावल, आफै तिमीहरूलाई ख्रीष्टको विनम्रता र कोमलताले आग्रह गर्छु। म तिमीहरूको उपस्थितिमा हुँदा नम्र छु, तर म टाढा हुँदा तिमीहरूप्रति साहसी छु। 2म तिमीहरूसँग बिन्ती गर्छु, कि तिमीहरूसँग म उपस्थित हुँदा, मलाई आत्मविश्वासका साथ साहसी हुन आवश्यक पर्नेछैनँ तर मेरो विचारमा हामी शरीरअनुसार हिंडिरहेका छौं भनी ठान्नेहरूको विरोध गर्दा म साहसी हुन आवश्यक पर्नेछ।3किनकि हामी शरीरमा हिंडे तापनि हामी शरीरअनुसार युद्ध लड्दैनौं। 4किनकि हामीले लडाइँ लड्ने हतियार शारीरिक होइन, बरु तिनीहरूसँग किल्लाहरू नष्ट गर्ने ईश्वरीय शक्ति छ। तिनीहरूले बहकाउने विवादहरूलाई बेकारको तुल्याउँछन्।5परमेश्वरको ज्ञानको विरुद्धमा उठ्ने हरेक उच्च कुरालाई पनि हामी नष्ट गर्छौं। हामी हरेक विचारलाई ख्रीष्टको आज्ञाकारितामा कैद गर्छौं 6र तिमीहरूको आज्ञाकारिता पूरा हुनासाथ, हरेक अनाज्ञाकारिताका कामलाई दण्ड दिन हामी तयार हुँदैछौं।7तिमीहरूको अगाडि के स्पष्ट छ हेर। यदि कोही ख्रीष्टको हो भन्ने कुरामा विश्वस्त छ भने, त्यसले आफैलाई याद दिलाओस् कि जसरी त्यो ख्रीष्टको हो, हामी पनि ख्रीष्टका हौं। 8किनकि मैले हाम्रो अधिकारको बारेमा केही ज्यादा नै गर्व गरे तापनि, जुन प्रभुले हामीलाई तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न दिनुभयो, म लज्जित हुनेछैनँ।9म यो देखाउन चाहन्नँ कि मेरा पत्रहरूद्वारा म तिमीहरूलाई भयभीत तुल्याउँदैछु। 10किनकि केही मानिसहरू भन्छन्, “त्यसका पत्रहरू गम्भीर र शक्तिशाली छन्, तर त्यसको शारीरिक उपस्थिति कमजोर छ। त्यसका वचनहरू सुन्न योग्यका छैनन्।”11त्यस्ता मानिसहरू यो कुरामा सचेत रहून्, कि हामी अनुपस्थित हुँदा हाम्रा पत्रहरूका वचनमा हामी जस्ता छौं हामी त्यहाँ हुँदा हाम्रा कामद्वारा हामी त्यस्तै हुनेछौं। 12हामी आफैलाई समूहबद्ध गर्न वा आफैलाई प्रशंसा गर्नेहरूसँग तुलना गर्न साहसी छैनौं।। तर जब तिनीहरूले आफैलाई एक अर्कासँग दाजेर हेर्छन्, र एक अर्कासँग तुलना गर्छन्, तिनीहरूसँग अन्तर्दृष्टि हुँदैन।13तर हामी सीमाभन्दा बाहिर गएर गर्व गर्नेछैनौं। बरु, परमेश्वरले नियुक्त गरिदिनुभएका सीमाहरूभित्र मात्र हामी त्यसो गर्नेछौं, जुन सीमा तिमीहरूसम्म पुग्छ। 14किनकि हामी तिमीहरूकहाँ नपुगेको जस्तोगरी आफूलाई बढाइरहेका छैनौं। ख्रीष्टको सुसमाचार लिएर तिमीहरूकहाँ पहिलो पटक आउने हामी नै थियौं।15हामीले अरूको परिश्रमको बारेमा सीमाभन्दा बढी गर्व गरेका छैनौं। बरु, हाम्रो आशा यो छ कि तिमीहरूको विश्वास बढ्दै जाँदा, तिमीहरूका बीचमा हाम्रो काम धेरै विस्तार हुनेछ, 16ताकि हामीले अरूको क्षेत्रमा पहिले नै गरिसकिएको कामको गर्व नगरी, तिमीहरूभन्दा बाहिरका क्षेत्रहरूमा पनि सुसमाचार प्रचार गर्न सकौं।17“तर गर्व गर्नेले प्रभुमा गर्व गरोस् ।” 18किनकि आफ्नो सिफारिस आफै गर्ने मानिसलाई होइन, तर प्रभुले सिफारिस गर्नुहुनेलाई स्वीकार गरिन्छ।
111मेरा केही मूर्खताहरू तिमीहरूले सहिदिए हुन्थ्यो भन्ने मेरो इच्छा छ। तर वास्तवमा तिमीहरूले सहिरहेका पनि छौ! 2किनकि म तिमीहरूप्रति ईर्ष्या गर्छु। तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि मेरो तिमीहरूप्रति ईश्वरीय ईर्ष्या छ। मैले तिमीहरूलाई एक शुद्ध कन्याको रूपमा ख्रीष्टलाई प्रस्तुत गर्ने प्रतिज्ञा गरें।3तर सर्पले हव्वालाई आफ्नो धूर्तताद्वारा झुक्याए जस्तैगरी ख्रीष्टमा भएको इमानदारीता र शुद्धताबाट तिमीहरूका विचारहरू बहकिएर जालान् कि भनेर मलाई डर लागेको छ । 4किनकि मानौं, यदि कोही आएर हामीले प्रचार गरेको भन्दा अर्कै येशू घोषणा गर्छ, वा मानौं कि तिमीहरूले प्राप्त गरेको भन्दा फरक आत्मा प्राप्त गर्छौ, वा मानौं कि तिमीहरूले प्राप्त गरेको सुसमाचारभन्दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्छौ। तिमीहरूले यी कुराहरूलाई राम्ररी सहन्छौ!5किनकि म विचार गर्छु, कि ती सर्वोच्च प्रेरितहरू भनाउँदाहरूभन्दा म कुनै पनि हिसाबले कम छैनँ। 6तर म बोलीमा तालिम प्राप्त नभए पनि, म ज्ञानमा अनभिज्ञ छैनँ । हामीले हर किसिमले सबै कुरामा तिमीहरूलाई यो कुरा थाहा दिएका छौं।7के तिमीहरू उच्च हौ भनी मैले आफैलाई नम्र पारेर मैले पाप गरें? किनकि मैले तिमीहरूलाई परमेश्वरको सुसमाचार सित्तैमा प्रचार गरें। 8मैले तिमीहरूलाई सेवा दिन सकूँ भनेर अरू मण्डलीहरूबाट सहयोग स्वीकार गरेर तिनीहरूलाई लुटें। 9जब म तिमीहरूको साथमा थिएँ र म खाँचोमा थिएँ, मैले कसैलाई बोझ दिइनँ। किनकि माकेडोनियाबाट आएका भाइहरूबाट मेरा खाँचोहरू पूरा भए। सबै कुरामा मैले आफैलाई तिमीहरूको बोझ बन्नबाट टाढा राखें, र म यो कुरालाई निरन्तरता दिनेछु।10ख्रीष्टको सत्यता ममा भएको हुनाले यो मेरो गर्वलाई अखैयाका क्षेत्रहरूमा चुप गराइने छैन। 11किन? किनभने म तिमीहरूलाई प्रेम गर्दिनँ र? परमेश्वर जान्नुहुन्छ।12र म जे गर्छु म गरिरहनेछु, ताकि तिनीहरूले गर्व गर्ने कुराहरूमा हामीजस्तै हुन पाउने अवसर खोज्नेहरूको अवसरलाई मैले दूर गर्न सकूँ। 13किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् । तिनीहरूले आफूलाई ख्रीष्टको प्रेरितको भेष धारण गर्छन्।14र यो कुनै अचम्म होइन, किनकि शैतानले पनि एउटा ज्योतिर्मय स्वर्गदूत भेष धारण गर्छ। 15यदि त्यसका सेवकहरूले पनि धार्मिकताको सेवकको रूपमा भेष धारण गरे भने पनि यो अचम्मको कुरा होइन। तिनीहरूको अन्त्य तिनीहरूको कामअनुसार नै हुनेछ।16म फेरि भन्दछुः मलाई कसैले मूर्ख नसम्झोस् । तर यदि तिमीहरूले सम्झन्छौ भने, मलाई मूर्खको रूपमा ग्रहण गर ताकि म थोरै गर्व गर्न सकूँ। 17म के भन्दैछु यो गर्वको आत्मविश्वाससाथ—म प्रभुले भन्नुभएझैं भन्दिनँ—म मूर्खझैं भन्दै छु । 18धेरै मानिसले शरीरअनुसार गर्व गरेजस्तै, म पनि गर्व गर्नेछु।19किनकि तिमीहरू खुसीसाथ मूर्खहरूको सहन गर्छौं। तिमीहरू आफै बुद्धिमानी छौ! 20किनकि यदि त्यसले तिमीहरूलाई दास बनाउँछ भने; यदि त्यसले तिमीहरूलाई बर्बाद गर्छ भने; यदि त्यसले तिमीहरूको फाइदा लिन्छ भने; यदि त्यसले आफूलाई उच्च ठान्छ भने, र यदि तिमीहरूलाई अनुहारमा थप्पड लाउँछ भने तिमीहरू त्यसलाई सहन्छौ। 21म हाम्रै शर्ममा यो भन्दछु कि हामीहरू ती सब गर्न नसक्ने गरी दुर्बल थियौं। तापनि यदि कोही साहसी छ भने—म एक मूर्खजस्तो बोल्दैछु—म पनि साहस गर्नेछु।22के तिनीहरू हिब्रूहरू हुन्? म पनि हुँ। के तिनीहरू इस्राएलीहरू हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तानहरू हुन्? म पनि हुँ। 23के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? (म पागल भएको जस्तैगरी बोल्छु।) म अझै बढ्ता हुँ: कडा परिश्रममा, अझ धेरै झ्यालखानामा, मापन गर्न नै नसकिने गरी कुटाइमा; मृत्युका धेरै खतराहरू सामना गर्नमा।24यहूदीहरूबाट मैले पाँच पल्ट “एक कम चालिस कोर्रा खाएँ।” 25मलाई तीन पल्ट डण्डीले कुटियो। एक पल्ट मलाई ढुङ्गाले हानियो। तीन पल्ट म पानी जहाज दुर्घटनामा परें। मैले एक दिन र एक रात खुला समुद्रमा बिताएको छु। 26नदीहरूका खतरामा, डाँकुहरूका खतरामा, मेरा आफ्नै मानिसहरूका खतरामा, गैरयहुदीहरूका खतरामा, सहर भित्रका खतरामा, उजाड-स्थानहरूका खतरामा, समुद्रका खतरामा, झुटा भाइहरूका खतरामा मैले बारम्बार यात्राहरू गरेको छु।27म कडा परिश्रम र कठिनाइमा, धेरै अनिंदो रातहरूमा, भोक र तिर्खामा, प्राय उपवासमा, नाङ्गोपन र जाडोमा परेको छु। 28यी कुराहरूबाहेक सबै मण्डलीहरूको फिक्रीको बोझ पनि ममाथि छ। 29को कमजोर छ, र म कमजोर छैनँ? कसले ठक्कर खाएको छ र मचाहिं थकित हुन्नँ?30यदि मैले गर्व गर्नैपर्छ भने, मेरा कमजोरीहरू देखाउने कुराहरूमा म गर्व गर्नेछु। 31प्रभु येशूका परमेश्वर र पितालाई, जो सदासर्वदा आशिषित हुनुहुन्छ, उहाँलाई थाहा छ कि मैले ढाँटिरहेको छैनँ!32दमस्कसमा, राजा अरितसको मुनिको हाकिमले मलाई गिरफ्तार गर्नको निम्ति दमस्कसको सहरलाई पहरा दिइरहेका थिए। 33तर पर्खालको झ्यालबाट मलाई डालोमा तल झारियो र म तिनको हातबाट उम्कें।
121मैले गर्व गर्नैपर्छ, यसबाट लाभ नभए पनि। तर म प्रभुको दर्शन र प्रकाशहरूमा जानेछु। 2म ख्रीष्टमा एक जना मानिसलाई चिन्छु जो चौध वर्ष अगाडि—, शरीरमा वा शरीर बाहिर मलाई थाहा छैन, परमेश्वरलाई थाहा छ—तेस्रो स्वर्गसम्म उचाली लगियो।3र मलाई थाहा छ त्यो मानिस— चाहे शरीरमा वा शरीर बाहिर हो, मलाई थाहा छैन, परमेश्वरलाई थाहा छ— 4त्यो मानिस स्वर्गमा उचाली लगियो र त्यसले मानिसहरूलाई उच्चारण गर्न अनुमति नभएको अव्यक्त कुराहरू सुन्यो। 5त्यस्ता मानिसको तर्फबाट म गर्व गर्नेछु। तर म आफै चाहिं आफ्नै दुर्वलताहरूबाहेक अरू कुरामा गर्व गर्नेछैनँ।6यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्नेछैनँ किनभने मैले सत्य बोलिरहेको हुनेछु। तर कसैले ममा देखेको वा मबाट सुनेकोभन्दा बाहेक बढी त्यसले मेरो बारेमा नसोचोस् भनेर म गर्व गर्नदेखि थामिनेछु। 7प्रकाशहरूको उत्कृष्टताको कारण म घमण्डले नफुलूँ भनेर एउटा काँढो मेरो शरीरमा दिइयो, शैतान तर्फको एउटा दूत—ताकि म घमण्डले नफुलूँ।8मबाट यो काँढो निकालिदिनुभएको होस् भनेर मैले प्रभुसित तीन पटक बिन्ती गरें। 9तर उहाँले मलाई भन्नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा नै शक्ति सिद्ध हुन्छ ।” यसैले ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु । 10त्यसकारण म ख्रीष्टको खातिर दुर्बलताहरूमा, निन्दाहरूमा, समस्याहरूमा, सतावटहरूमा, कष्टपूर्ण अवस्थाहरूमा सन्तुष्ट रहन्छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली हुन्छु।11म मूर्ख भएको छु! तिमीहरूले मलाई यसो गर्न कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो। किनकि म केही नभए तापनि ती सर्वोच्च ठानिएका प्रेरितहरूभन्दा तुच्छ थिइनँ। 12सारा धैर्य, चिन्हहरू र शक्तिशाली कामहरू र आश्चर्यकर्महरूद्वारा प्रेरितको साँचा लक्षणहरू तिमीहरूका माझमा प्रदर्शन गरिएका थिए। 13म तिमीहरूको बोझ नभएको कुरा बाहेक कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम महत्त्वका भयौ र? यो गल्तीको निम्ति मलाई क्षमा देओ!14हेर! म तिमीहरूकहाँ तेस्रो पटक आउन तयार छु। तिमीहरूका निम्ति म बोझ बन्नेछैनँ, किनकि म तिमीहरूसँग भएका कुराहरू चाहन्नँ। म तिमीहरूलाई चाहन्छु। किनकि छोराछोरीहरूले आमाबुबाको निम्ति बचत गर्नुपर्दैन। बरु, आमाबुबाले छोराछोरीको निम्ति बचत गर्नुपर्छ। 15म तिमीहरूका प्राणको निम्ति ज्यादै खुसीसाथ खर्च गर्नेछु र स्वयम् आफै पनि खर्चिनेछु। यदि म तिमीहरूलाई बढी प्रेम गर्छु भने के मैलेचाहिं कम प्रेम पाउने र?16यसो भए तापनि, म तिमीहरूमाथि बोझ बनिनँ। तर म यस्तो धूर्त छु कि, म नै हुँ जसले तिमीहरूलाई छलले पक्रें। 17के मैले पठाएका कोहीमार्फत मैले तिमीहरूको फाइदा उठाएँ र? 18मैले तीतसलाई तिमीहरूकहाँ जान आग्रह गरे, र अरू भाइहरूलाई तिनीसँग पठाए। के तीतसले तिमीहरूको फाइदा उठाए? के हामी एउटै आत्मामा हिंडेका होइनौं र? के हामी एउटै पाइलामा हिंडेका होइनौं र?19के यतिञ्जेल हामी तिमीहरूका सामु आफ्नो सफाइ दिइरहेका थियौं भन्ने तिमीहरू सोच्छौ ? परमेश्वरको दृष्टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति, प्रियहरू, सबै कुरा ख्रीष्टमा बोलिरहेका छौं।20किनकि म तिमीहरूकहाँ आउँदा मैले चाहेजस्तै तिमीहरूलाई नपाउन सक्छु भनेर म डराउँछु। मलाई तिमीहरूले चाहेजस्तै नपाउन सक्छौ भनेर म डराउँछु। त्यहाँ बहसहरू, ईर्ष्या, रीस दन्केको, दुस्मनी, स्वार्थी आकांक्षा, कुरौटेपन, घमण्ड र गोलमाल हुन सक्छ भनेर म डराउँछु। 21म तिमीहरूकहाँ फेरि फर्केर आउँदा मेरा परमेश्वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ। मलाई डर छ कि म तिनीहरूमध्ये धेरैद्वारा दुःखित हुन सक्छु जसले यसभन्दा अघि पाप गरेका छन्, जसले आफूले गरेका अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाको पश्चात्ताप गरेनन्।
131म तेस्रो पटक तिमीहरूकहाँ आउँदैछु । “हरेक कुरालाई दुई वा तीन जना साक्षीद्वारा प्रमाणित गरिनुपर्छ।” 2म दोस्रो पटक त्यहाँ हुँदा नै पाप गर्नेहरू र सबै बाँकीकाहरूलाई भनिसकेको छु र फेरि पनि भन्छुः म फेरि आउँदा तिनीहरूलाई छोड्नेछैनँ।3तिमीहरूलाई म यो भन्छु, किनभने तिमीहरू मद्वारा ख्रीष्ट बोल्नुभएको कुराको प्रमाण खोज्दैछौ। उहाँ तिमीहरूप्रति कमजोर हुनुहुन्न। तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्छ । 4किनकि उहाँ दुर्बलतामा क्रूसमा टाँगिनुभयो, तर परमेश्वरको शक्तिद्वारा उहाँ जीवित हुनुहुन्छु। किनकि हामी पनि उहाँमा दुर्बल छौं, तर तिमीहरूका बीचमा परमेश्वरको शक्तिद्वारा हामी उहाँमा जिउनेछौं।5आफैले जाँच, तिमीहरू विश्वासमा छौ कि छैनौ भनेर हेर। आफैलाई जाँच। येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूले महसुस गरेका छैनौ?—तिमीहरू जाँचमा असफल भयौ भने मात्र। 6र म आशा गर्छु, कि तिमीहरूले हामी जाँचमा असफल भएका छैनौं भन्ने थाहा पाउनेछौ।7तिमीहरूले केही खराबी गर्नेछैनौ भनी हामी परमेश्वरसँग प्रार्थना गर्छौं। हामी जाँचमा सफल भएका छौं भन्ने देखाउनको निम्ति म प्रार्थना गर्दिनँ । बरु, हामी जाँचमा असफल भएको जस्तो देखिए तापनि तिमीहरूले जे असल छ त्यही गर्न सक भनेर हामी प्रार्थना गर्छौं । 8किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौं, केवल सत्यको निम्ति मात्र गर्न सक्छौं।9किनकि हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी रमाउँछौं। तिमीहरू पूर्ण होओ भनेर पनि हामी प्रार्थना गर्छौं। 10म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्छु, ताकि तिमीहरूसँग रहँदा मेरो अधिकारअनुसार निर्दयतासाथ व्यवहार गर्न नपरोस्—जुन प्रभुले मलाई दिनुभयो ताकि म तिमीहरूको निर्माण गर्न सकूँ, भत्काउने होइन।11अन्तमा भाइ हो, आनन्द गर ! पुनर्निर्माणको निम्ति काम गर; उत्साहित होओ; एक अर्कासँग सहमत होओ; शान्तिमा बस । अनि प्रेम र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ । 12एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।13सबै परमेश्वरका पवित्र जनहरूले तिमीहरूलाई अभिवादन गर्छन्। 14प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम, अनि पवित्र आत्माको सङ्गती तिमीहरू सबैसँग रहून्।