To view a copy of the CC BY-SA 4.0 license visit
http://creativecommons.org/licenses/by-sa/4.0/
Notices:
You do not have to comply with the license for elements of the material in
the public domain or where your use is permitted by an applicable
exception or limitation.
No warranties are given. The license may not give you all of the
permissions necessary for your intended use. For example, other rights
such as publicity, privacy, or moral rights may limit how you use the
material.
१ थेसलोनिकी
11पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा अनुग्रह र शान्ति ।2तिमीहरू सबैका लागि हामी परमेश्वर पितालाई धन्यवाद चढाउछौँ र हाम्रो प्रार्थनामा तिमीहरूलाई याद गर्छौं । 3हामी निरन्तर रूपमा तिमीहरूको विश्वासको काम, प्रेमको परिश्रम र आत्मविश्वासको धैर्यलाई सम्झना गर्छौं जुन परमेश्वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्टमा भएको भविष्यको कारणले गर्दा हो ।4परमेश्वरबाट प्रेम पाएका भाइहरूलाई, तिमीहरूको बोलावट हामीलाई थाहा छ । 5हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो, वचनमा मात्र होइन, तर शक्तिमा, पवित्र आत्मामा, र धेरै निश्चयतामा । तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौं, सो तिमीहरूलाई थाहा छ ।6तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्यौ । 7त्यसैले, तिमीहरू सबै माकेडोनिया र अखैयामा विश्वास गर्नेहरू सबैका बिचमा उदाहरण भयौ ।8तिमीहरूबाट परमेश्वरको वचन माकेडोनिया र अखैयामा मात्र प्रचार भएको होइन, तर तिमीहरूको विश्वास हरेक ठाउँमा फैलिएको छ । त्यसैले, हामीलाई केही भन्नु आवश्यक छैन । 9हाम्रो विषयमा तिनीहरू आफैले भन्छन्, कि हामीलाई तिमीहरूले कस्तो प्रकारले स्वीकार गरेका थियौ र कसरी तिमीहरू मूर्तिपूजा गर्न छोडेर जीवित र साँचो परमेश्वरको सेवा गर्न फर्क्यौ । 10र उहाँका पुत्र स्वर्गबाट आउने समयलाई पर्खिराखेका छौ, जसलाई उहाँले मृतकबाट जीवित पार्नुभयो । उहाँ येशू हुनुहुन्छ जसले हामीलाई आउने वाला क्रोधबाट छुटकारा दिनुहुन्छ ।
21भाइहरू हो, तिमीहरू आफैलाई थाहा छ कि तिमीहरूमा हाम्रो आगमन बेकम्मा थिएन, 2तर तिमीहरूलाई थाहा छ, हामीले पहिला नै कष्ट भोग्यौं र फिलिप्पिमा हामीलाई निर्लज्जपूर्वक व्यवहार गरियो । हामी ठुलो विवादको बिचमा पनि तिमीहरूसँग परमेश्वरको सुसमाचार बताउन परमेश्वरमा साहसी भयौं ।3किनभने हाम्रो उपदेश गलत कुराबाट होइन न त अशुद्ध, न छलबाट नै आएको हो, 4तर जसरी परमेश्वरले हामीहरूलाई सुसमाचार सुम्पिएको व्यक्तिको रूपमा स्वीकृति दिनुभएको छ, त्यसैले हामी मानिसलाई होइन तर हाम्रो हृदय जाँच्नुहुने परमेश्वरलाई खुसी पार्नलाई बोल्छौं ।5तिमीहरूलाई थाहा छ र परमेश्वर पनि साक्षी हुनुहुन्छ कि हामीले कुनै पनि बेला चाप्लुसी गरेनौं, न त लोभको निम्ति बहाना नै बनायौं, 6न त हामीले मानिसहरूबाट महिमा खोज्यौं, न त तिमीहरूबाट या अरूहरूबाट नै, जब कि हामीले ख्रीष्टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौं ।7यसको सट्टा हामीहरू तिमीहरूका माझमा एउटा आमाले आफ्ना बाल बच्चालाई सान्त्वना दिएजस्तै भद्र भयौं । 8यसरी तिमीहरूप्रति हाम्रो गहिरो प्रेम थियो, हामी तिमीहरूसँग परमेश्वरको सुसमाचार बाँड्न मात्र होइन, तर हाम्रो जीवन बाँड्न पनि खुसी थियौं किनकि तिमीहरू हाम्रो निम्ति अति प्रिय भएका छौ । 9किनभने भाइहरू हो, तिमीहरूलाई हाम्रो परिश्रम र काम याद छ, कि हामीले तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गर्दै हामी तिमीहरू कसैलाई बोझ नबनौं भनेर हामीले दिनरात काम गर्यौं ।10हामीले तिमीहरू विश्वास गर्नेहरूसित कति पवित्रता, धार्मिकता र कपटरहित व्यवहार गर्यौं भन्ने कुराको साक्षी तिमीहरू छौ र परमेश्वर पनि हुनुहुन्छ, 11तिमीहरूलाई पनि थाहा छ, कि हामीले तिमीहरू हरेकलाई कसरी एउटा बुबाले आफ्ना छोराछोरीलाई गरे झैं तिमीहरूलाई उत्साह, सान्त्वना दियौं र गवाही दियौं, 12कि तिमीहरू परमेश्वरको योग्यको भएर हिँड्न सक जसले तिमीहरूलाई उहाँको राज्य र महिमामा बोलाउनुहुन्छ ।13यही कारणको निम्ति हामी परमेश्वरलाई निरन्तर धन्यवाद दिन्छौं । किनकि तिमीहरूले जब हामीबाट परमेश्वरको सन्देशको वचन पायौ तिमीहरूले मानिसको वचनको रूपमा मात्र ग्रहण गरेनौ, तर साँच्चै परमेश्वरको वचनको रूपमा नै ग्रहण गर्यौ, जुन वचनले विश्वास गर्नेहरूमा पनि काम गर्छ ।14किनभने भाइहरू हो, तिमीहरू ख्रीष्ट येशूमा भएका यहूदियाका मण्डलीबिच तिमीहरू परमेश्वरको मण्डलीको नक्कल गर्नेहरू भएका छौ किनभने तिनीहरूले यहूदीहरूबाट सतावट पाएजस्तै तिमीहरू पनि आफ्नै मानिसहरूबाट सताइएका छौ । 15जसले प्रभु येशू र अगमवक्ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् । 16तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ ।17भाइहरू हो, हामीहरू छोटो समयको निम्ति हृदयमा होइन, तर उपस्थितिमा छुट्ट्याइएका थियौं र हामीले तिमीहरूलाई भेट गर्नलाई सक्दो तीव्र इच्छा गर्यौं । 18किनभने हामी तिमीहरूकहाँ आउन चाहन्थ्यौं । म पावलले बारम्बार कोसिस गरें, तर शैतानले हामीलाई बाधा दियो । 19किनभने हाम्रा प्रभु येशूको आगमनमा उहाँको सामु हाम्रो भविष्यको निम्ति दृढ आनन्द वा महिमाको मुकुट अरूहरू जति नै तिमीहरू नै होइनौ र ? 20किनभने तिमीहरू हाम्रो महिमा र आनन्द हौ ।
31यसकारण जब हामीले अरू धेरै सहन सकेनौं, तब हामीले एथेन्समा एक्लै रहन उचित ठान्यौं । 2तिमीहरूको विश्वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौं जो ख्रीष्टका सुसमाचारमा परमेश्वरका सेवक हुन् , 3ताकि यी कष्टहरूबाट कोही नखल्बलियोस् । किनकि तिमीहरू आफैलाई थाहाछ कि यसैको खातिर हामी नियुक्त भएका छौं ।4साँच्चै जब हामीहरू तिमीहरूसँग थियौं, हामीले पहिले नै भनेका थियौं कि हामी कष्टमा पर्न लागेका थियौं , र तिमीहरूलाई थाहा नै छ यो हुन आयो । 5यसैकारण, जब मैले सहनै सकिनँ, मैले तिमीहरूको विश्वासबारे जान्न पठाएँ । कतै परीक्षा गर्नेवालाले तिमीहरूलाई कुनै न कुनै रूपमा परीक्षामा पार्याे र हाम्रो मेहनत व्यर्थमा गयाे कि ।6तर तिमोथी तिमीहरू कहाँबाट विश्वास र प्रेमको सुसमाचार लिएर हामी कहाँ आए। तिनले हामीलाई भने कि तिमीहरूसँग सधैँ हामीसँगका असल क्षणहरूको सम्झना छ, र जसरी हामी तिमीहरूलाई भेट्न उत्कट इच्छा गर्छौं त्यसै गरी तिमीहरू पनि हामीलाई हेर्न उत्कट इच्छा गर्छौ । 7यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्टकर अवस्थामा तिमीहरूको विश्वासद्वारा हामीलाई सान्त्वना मिलेको थियाे।8यदि तिमीहरू प्रभुमा स्थिर रह्यौ भने, अब हामी साँच्चै जिउँछौं। 9तिमीहरूका कारण हामीमा भएको सम्पूर्ण आनन्दको खातिर परमेश्वरको सामु हामी कसरी परमेश्वरलाई धन्यवाद चढाऔं? 10तिमीहरूको मुहार हेर्न र तिमीहरूको विश्वासमा जुन कुराको कमी छ, सो दिन सकौं भनेर दिनरात हामी कडा मेहनतसाथ प्रार्थना गर्छौं ।11हाम्रा परमेश्वर, र पिता आफैले र हाम्रा प्रभु येशूले, तिमीहरूकहाँ आउने ढोका खोलिदिऊन्। 12प्रभुले तिमीहरूलाई एक अर्काप्रति र सबै मानिसहरूप्रति प्रेममा प्रशस्त गरी बढ्दै जान दिऊन्, जसरी हामी तिमीहरूप्रति गर्छौं । 13उहाँले तिमीहरूका हृदयहरूलाई बलियो बनाऊन् ताकि हाम्रा प्रभु येशू उहाँका सबै पवित्र जनहरूसँग आउनुहुँदा उहाँले हाम्रा परमेश्वर र पिताका सामु तिनीहरू पवित्रतामा निष्कलङ्क हुन सकून् ।
41अन्तमा भाइहरू हो, येशू ख्रीष्टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौं। जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्वरलाई रिजाउनुपर्ने हो भन्ने अर्ती पायौ, त्यसरी नै तिमीहरू चल, ताकि तिमीहरूले अझै बढी गर्न सक । 2किनकि तिमीहरूलाई थाहा छ, हामीले प्रभु येशू ख्रीष्टद्वारा तिमीहरूलाई के अर्ती दियौं।3किनकि तिमीहरूकाे पवित्रीकरण परमेश्वरको इच्छा हो, कि तिमीहरू यौन अनैतिकताबाट टाढै बस । 4ताकि तिमीहरू प्रत्येकले पवित्रता र सम्मानमा आफ्नो भाँडो कसरी राख्ने भनी जान्न सक, 5(परमेश्वरलाई नचिन्ने गरैयहूदीहरू जस्तै) कामवासनामा जलेर होइन । 6यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् । किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दियाैं ।7किनकि परमेश्वरले हामीलाई अशुद्धताको लागि बोलाउनुभएन, तर पवित्रताको लागि हो । 8त्यसकारण, जसले यो इन्कार गर्छ त्यसले मानिसलाई होइन, तर परमेश्वरलाई इन्कार गर्छ, जसले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ ।9भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्न जरुरी छैन, किनकि एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्वरबाट सिकाइएका छौ । 10वास्तवमा तिमीहरूले माकेडोनियामा भएका सबै दाजुभाइहरूलाई यसाे गरेका छौ, तर भाइहरू, हामी तिमीहरूलाई आग्रह गर्छाेैं कि याे अझै बढी गर । 11हामीले तिमीहरूलाई आग्रह गरेझैँ शान्त रहने, आफ्नै धन्दामा मन लगाउने र आफ्नै हातले परिश्रम गर्ने गर जसरी हामीले आज्ञा दियाैं, 12ताकि विश्वासभन्दा बाहिर भएकाहरूका अघि तिमीहरू ठिक प्रकारले जिउन सक र तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।13भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्ने हामी चाहन्नौं ताकि बाँकीका, आशा नहुनेहरू जस्तै तिमीहरूले शोक गर्न नपरोस् । 14येशू मर्नुभयो र फेरि जीवित हुनुभयो भनी हामी विश्वास गर्छौं भने परमेश्वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ । 15परमेश्वरको वचनद्वारा हामी तिमीलाई यसो भन्छौं कि हामी जो जीवित छौं र प्रभुको आगमनसम्म बाँचिरहन्छौं, हामीले कुनै हालतमा पनि सुतिगएकाहरूलाई उछिन्नेछैनौं ।16किनकि प्रभु आफै स्वर्गबाट ओर्लनुहुनेछ। उहाँ चर्को सोर, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरकाे तुरहीको गर्जनका साथ आउनुहुनेछ र ख्रीष्टमा मरेकाहरू पहिले जीवित हुनेछन् । 17तब हामी जो जीवित छौं, छोडिएका छौं, उठाई लगिएकाहरूसँग बादलमा एकसाथ आकाशमा प्रभुलाई भेट्नेछौं । यसरी हामी सदासर्वदा प्रभुसँगै हुनेछौं । 18त्यसकारण, यी वचनहरूले एक अर्कालाई सान्त्वना देओ ।
51अब भाइहरू हो, तिमीहरूलाई समय र ऋतुहरूको बारेमा कुनै कुरा लेखिरहनु जरुरत छैन । 2किनकि तिमीहरू आफैले राम्ररी जान्दछौ कि प्रभुको आगमनको समय, राती आउने चोरको जस्तै हुनेछ । 3जब तिनीहरूले “शान्ति र सुरक्षा” भन्छन् तब तिनीहरूमाथि अचानक विनाश आइपर्नेछ । त्याे गर्भवती स्त्रीलाई प्रसव-वेदना भएझैँ हुनेछ। तिनीहरू कुनै पनि किसिमले उम्कनेछैनन् ।4तर भाइहरू हो, त्यो दिन तिमीहरूमाथि चोरझैं आइपर्नलाई तिमीहरू अन्धकारमा छैनौ । 5किनकि तिमीहरू सबै प्रकाशका सन्तानहरू र दिनका सन्तानहरू हौ । हामी रातका सन्तान होइनौं, न त अन्धकारका नै । 6त्यसैले, हामी बाँकी अरूहरूझैं नसुतौं । बरु हामी जागा रहौं र गम्भीर हौं । 7किनकि सुत्नेहरू रातमा नै सुत्छन् र पिएर मात्नेहरू रातमा नै मात्छन् ।8तर हामी दिनका सन्तानहरू भएकाले हामी गम्भीर हुनुपर्छ, विश्वास र प्रेमको छाती-पाता र मुक्तिको आशाकाे टोप लगाउनुपर्छ । 9किनकि परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्तिको निम्ति चुन्नुभयो । 10उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौं वा निन्द्रामा, हामी उहाँसँगै जिउन सकौं । 11यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर ।12भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति र तिमीहरूलाई उत्साह दिनेहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं । 13तिनीहरूको कामको खातिर प्रेममा उच्च आदरले तिनीहरूलाई सम्झनलाई पनि हामी तिमीहरूलाई आग्रह गर्छौं । तिमीहरू आपसमा शान्तिमा रहो । 14भाइहरू हो, हामी तिमीहरूलाई आग्रह गर्छौंः गोलमाल गर्नेहरूलाई चेतावनी देआे, निरुत्साहित भएकाहरूलाई उत्साह देआे, कमजोरलाई सहायता गर र सबैसँग धैर्यवान् हाेआे।15हेर, कसैले खराबीको बदला खराबी नगरोस्, बरु एक अर्कालाई र सबैलाई असल गर्ने प्रयत्न गर । 16सदैव आनन्द गर । 17नरोकी प्रार्थना गरिरहो । 18हरेक कुरामा धन्यवाद देओ । किनकि यो तिमीहरूको निम्ति ख्रीष्ट येशूमा परमेश्वरको इच्छा हो ।19पवित्र आत्मालाई ननिभाओ । 20अगमवाणीहरूलाई अवहेलना नगर । 21सबै कुराको जाँच गर । जे असल छ त्यसमा लागिरहो । 22सबै किसिमको खराबीलाई टाढै बस ।23शान्तिका परमेश्वरले तिमीहरूलाई पूर्ण रूपमा पवित्र पारून् । र तिमीहरूका सम्पूर्ण आत्मा, प्राण, र शरीरलाई हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा दोषरहित राखून् । 24तिमीहरूलाई बोलाउनुहुने विश्वासयोग्य हुनुहुन्छ, जसले यो पनि गर्नुहुनेछ ।25भाइहरू हो, हाम्रो निम्ति पनि प्रार्थना गर । 26सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर । 27म प्रभुद्वारा तिमीहरूलाई बिन्ती गर्छु, कि यो पत्र सबै भाइहरूका निम्ति पनि पढियोस् । 28हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस् ।